माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की, मङ्सिर २४ गते । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा प्रभातफेरी गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी गरिएको हो ।
पोखराको मानव अधिकारचोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढुङ्गा, न्युरोड, सभागृह चोक हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा मानवअधिकारकर्मी, पत्रकार, निजामती कर्मचारी, सुरक्षा निकाय, विभिन्न मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।
प्रभातफेरी सहभागी भएकाहरुले मानव अधिकारको संरक्षण गर, सुशासन कायम गर, सुशासन नै विकासको कडी हो, भ्रष्टाचार अन्त्य गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रभातफेरीपछि आयोजित सभामा बोल्दै उच्च अदालत पोखरामा मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले मानव अधिकारको संरक्षण, सम्वर्धन र प्रवर्धनमा सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले अधिकारको कुरा गर्दा कर्तव्य पनि सँगै आउने हुनाले अधिकार र कर्तव्य सँगसँगै भएको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका प्रमुख नीतु गर्तौलाको अध्यक्षतामा भएको थियो ।