बुलबुले समाचारदाता
सुर्खेत, मङ्सिर २४ गते । वीरेन्द्रनगरमा निर्माणाधीन दुई वटा सरकारी भवनको निर्माण निकै सुस्त छ । पटक पटक म्याद थप गर्दा पनि काम सकिएको छैन । वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश आयुर्वेद औषधालय र कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ भएको हो ।
निर्माण थालिएको लामो समयसम्म पनि उक्त भवन निर्माणले पूर्णता पाउन सकेको छैन । निर्माण कम्पनीको लापर्वाहीका कारण काममा ढिलासुस्ती भइरहेको छ । पटक पटक तोकिएको मिति सकिएसँगै म्याद थप गर्दै काम भइरहेको हो । कामको प्रगति भने न्यून छ । अहिले निर्माणाधीन भवनको नाम परिवर्तन गरेर भवन निर्माणको काम अघि बढाइएको हो । दुई वटै सरकारी कार्यालयको नाम परिवर्तन गरिएको छ । प्रदेश आयुर्वेद औषधालयको नाम १५ शय्या आयुर्वेद अस्पताल राखिएको छ ।
यस्तै कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवनको नाम परिवर्तन गरेर मेडिकल स्टोर सुर्खेत राखिएको छ । दुई वटै भवन निर्माणको म्याद थप गरेर काम अघि बढाइएको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामकृष्ण आचार्यका अनुसार पटक पटक म्याद थप गर्दा पनि काम सकिएको छैन । अहिले ताकिता दिएर काम तीव्र गतिमा अघि बढाउन भनिएको छ । निर्माण कम्पनीको लापर्वाहीले नै काम ढिला भइरहेको जनाइएको छ । प्रदेश आयुर्वेद औषधालयको भवन निर्माण अवधि तीन पटक थपियो । निर्माण २०७८ असारबाट सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपर स्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । सङ्घीय सरकारको १८ करोड २२ लाख बजेटमा निर्माण सम्झौता गरिएको हो । तीन पटक गरेर पछिल्लो समय २०८२ माघसम्म म्याद थपिएको छ । सुरुको सम्झौता अनुसार २०८० चैत २१ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म भवनको दुई तलाको ढलान मात्र सकिएको छ ।