• १३ साउन २०८१, आइतबार

प्रत्येक शनिबारको लोडसेडिङले धादिङबासीलाई सास्ती

blog

धादिङ, असार २५ गते । विद्युत्त प्राधिकरण धादिङले हरेक शनिबारका लागि सूचना प्रकाशित गर्दै विद्युत्त मर्मतका लागि भन्दै लोडसेडिङ गर्ने गरेको छ । प्राधिकरणको हरेक शनिबारको लोडसेडिङको मारमा धादिङबासी पर्ने गरेका छन् । 

धादिङका अधिकांश स्थानमा कुनै दिनमा पनि विद्युत्तमा नियमितता नभएको र बिजुली आउने  जाने कुनै भर नभएको उपभोक्ताको आरोप छ । विद्युत्तमा आश्रित व्यवसाय गर्न निकै कठिन भएको गुनासो व्यवसायीहरुले गरेका छन् । कपडा उद्योग, होटल व्यवसाय र पोल्ट्री व्यवसायी समस्यामा छन् । गर्मीको समयमा विद्युत्तको अनियमितताले व्यवसाय चौपटमा परेको होटल व्यवसायी मुना गोतामे बताउनुहुन्छ । ‘निकै गर्मी छ, फ्रिज चलाउन नपाए पकाउने तयारीमा राखिएको सबै सामान विग्रिएर जान्छ’ गोतामे भन्नुहुन्छ । गोतामेका अनुसार विद्युत प्राधिकरणको असावधानीले दैनिक घाटा व्यहोर्नु परेको छ ।

महिनौदेखि प्राय सबै शनिबार सुचना नै जारी गरेर प्राधिकरण दिनभरी विद्युत नआउने जानकारी गराउने गरेको छ । अधिकाँशको बुझाइ नेपाल विद्युत प्राधिकरण धादिङले शनिबार बत्ती काट्दै छ भन्ने रहेको पत्रकार मनिष दुवाडी बताउनुहुन्छ । सोलार, इन्भर्टर, लाइट लगायतका सामान विक्रेताहरुको सेटिङमा प्राविधकरणले अनेकन बहाना बनाउँदै विद्युत कटौती गरेको टिप्पणीहरु पनि सामाजिक संजालमा छरपस्ट आइरहेका छन् । 

हिउँदा समेत अनियमित रहेको विद्युत बर्खा लागेदेखि झनै अनियमित बनेको सामाजिक अभियान्ता नारायण श्रेष्ठ बताउनु हुन्छ । दिनमा दजनौं पटक बत्ती गइरहने समस्याले गर्दा आमनागरिकले त हैरानी खेपेकै छन् । सरकारी काम पनि अस्तव्यस्त बन्ने गरेको छ । दिनमै दशौं पटकसम्म विद्युत आउने जाने हुँदा व्यवसायीहरु बढी मारमा परेका छन् । 

समाजसेवी श्रेष्ठ सरकारले प्राकृतिक इन्धनको खपत घटाउन विद्युतीय सामाग्री प्रयोगका लागि प्रोत्साहन गरिरेको छ, तर पटक पटक भइरहने अघोसित लोडसेडिङले विद्युतीय मेसिन प्रयोग गर्ने व्यवसायी झनै बढी समस्यामा छन् ।

नियमनकारी निकाय प्राधिकरणले भने बर्खा समय भएकाले अहिले विजुली गइरहने समस्या भएको हलुका जवाफ दिने गरेको छ । टाढाबाट विजुली आपूर्ती गर्नुपर्ने र बिच बिचमा आउने समस्याले गर्दा विजुली जाने आउने भैरहने विद्यूत प्राधिकरण धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपाले बताउनुभयो । ट्रान्समिटर पड्किने, जल्ने, हावाहुरीका कारण तार चुँडिने, बाढि पहिरोले पोल ढाल्ने र न्यून भोल्टेजको बिजुली आउने लगायतका समस्या रहेको प्राधिकरणले नै स्वीकार गरेको छ । न्यौपानेका अनुसार विगत वर्षको तुलनामा हावाहुरी र चट्याङ बढी भएकोले विद्युत आपूर्तिमा समस्या भएको हो । 

Author

मुरारी अधिकारी