• १३ साउन २०८१, आइतबार

भूमिगत विद्युत् प्रसारणमा समस्या

blog

चितवन, असार २५  गते । दुईवटा सर्किट नहुँदा चितवनको माडी लैजाने भूमिगत विद्युत् प्रसारण लाइनमा सधैँ समस्या आउने गरेको छ । पाँच वर्षअगाडिदेखि भरतपुरबाट चितवन राष्ट्रिय निकुञ्जको बाटो हुँदै माडीमा भूमिगत तार ओछ्याएर लगिएको थियो । निकुञ्जभित्रको स्थानमा आउने समस्याका कारण माडीमा हरेक महिना केही दिन अन्धकार हुँदै आएको छ । यस वर्ष असार लागेदेखि नै समस्या आउँदा उपभोक्ता हैरानीमा परेका छन् । पश्चिमचितवनको चनौली विद्युत् वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले भन्नुभयो, “यो प्रसारण क्षेत्रमा दुईवटा सर्किट नहुँदा धेरै समस्या आएको छ ।”

‘सिङ्गल लाइन’ भएको स्थानमा यस्ता समस्या आउने गर्छ, उहाँले भन्नुभयो, “एक हप्ताअगाडि चार दिनसम्म माडी नगरपालिकामा अन्धकार भयो । यहाँ अन्य वैकल्पिक उपाय नहुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।” “भूमिगत विद्युत् प्रणालीमा समस्या आउने भए पनि माडीमा भने अन्यत्रभन्दा धेरै समस्या आएको छ,” उहाँले भन्नुभयो, “समस्या आउनासाथ छिटो मर्मत गर्न सकिँदैन, त्यसले गर्दा विद्युत्विहीन हुनुपर्छ ।” 

आफूहरूले चाहेर पनि तत्काल समाधान गर्न नसक्ने लम्सालको भनाइ छ । उहाँ भन्नुहुन्छ, “राति समस्या आए निकुञ्जमा गएर मर्मत गर्न सक्दैनौँ । दिउँसो पनि सुरक्षा निकायबाट अनुमति लिएर जानुपर्ने हुन्छ, वन्यजन्तुको आक्रमण हुने डर भएकाले यहाँ विशेष सावधानी अपनाउनुपर्छ, त्यसैले काम गर्न जटिल छ ।” 

असार लागेपछि पनि धेरै पटक विद्युत् बन्द भएको कार्यालयले जनाएको छ । निकुञ्जमा बिछ्याइएका सिङ्गल तार भएसम्म समस्या यस्तै हो । अहिले भइराखेको भन्दाबाहेक अर्को तार बिछ्याउन अध्ययन पूरा भएको छ, लम्सालले भन्नुभयो, “पहिलो वातावरण प्रभाव मूल्याङ्कन (इआईए) भइसकेको छ । अब पूरक इआईए भएर काम गर्न अनुमति दिएपछि टेन्डर आह्वान गर्ने तयारी छ ।”

माडी नगरपालिकाका स्थानीय श्याम विष्टले भन्नुभयो, “हरेक महिना समस्या आउने गर्छ तर यस पटक असार लागेपछि धेरै समस्या आएको छ । पहिला विद्युत् नहुँदा सोलारबाट ऊर्जाको काम गरिँदै आएको थियो । विद्युत् पुगेपछि सोलार प्यानल र ब्याट्री सबैले हटाइसकेका छन् ।” चार दिनसम्म विद्युत् बन्द हुँदा माडी नगरपालिकाका वित्तीय संस्था, शैक्षिक संस्था व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालय सबैमा असर पारेको उहाँले बताउनुभयो । 

स्थानीय सञ्चारकर्मी सूर्य पाठकले विद्युत् बन्द हुँदा सञ्चार माध्यमबाट वञ्चित हुनुपर्ने बाध्यता भएको बताउनुभयो । स्थानीय रेडियोसमेत सञ्चालन गर्दै आउनुभएका पाठकले भन्नुभयो, “विद्युत् बन्द भएपछि रेडियोको ब्याट्रीले नधानेर प्रसारण बन्द हुन्छ, इन्टरनेट अवरुद्ध हुन्छ, विद्युत्बाट चल्ने हरेक उपकरण बन्द हुँदा समाज नै प्रभावित भएको छ ।” यहाँ २०७३ मङ्सिर ४ गतेबाट भूमिगत विद्युत् प्रणाली सुरु भएको थियो । 

राति समस्या आए निकुञ्जमा गएर मर्मत गर्न सक्दैनौँ । दिउँसो पनि सुरक्षा निकायबाट अनुमति लिएर जानुपर्ने हुन्छ, वन्यजन्तुको आक्रमण हुने डर भएकाले यहाँ विशेष सावधानी अपनाउनुपर्छ, त्यसैले काम गर्न जटिल छ

Author

शालिग्राम नेपाल