• २३ मङ्सिर २०८२, मङ्गलबार

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर २३ गते । ‘श्रम आप्रवासनको चक्रमा सुशासन, सुरक्षित मर्यादित सिपयुक्त आप्रवासन’ भन्ने राष्ट्रिय नारासाथ नेपाल सरकारले यस पटकको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेको संयोजकत्वमा गठित मूल समारोह समितिले सो नारासहित दिवस मनाउने तयारी भएको जनाएको छ । दिवसका अवसरका वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने विषयमा विभिन्न सरोकारवाला निकायसहित व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई जिम्मेवार हुन झकझक्याउने कार्यक्रम गरिने जनाइएको छ । 

मूल समितिका संयोजक घिमिरेले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको श्रमशक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सिप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति अनुरूप सप्ताहव्यापी कार्यक्रम गरिने जानकारी दिनुभयो । 

आप्रवासी श्रमिकले पठाएको विप्रेषणले उनीहरूको घरपरिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकाङ्कमा सुधार र गरिबीमा रहेका परिवारको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठुलो सहयोग पुगेको छ । 

अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले आप्रवासनका चुनौती र अवसरबारे चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ । नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज, आप्रवासी श्रमिक तथा उनीहरूका परिवार, सञ्चार जगत्लगायत विभिन्न पक्षको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ ।