यज्ञप्रसाद सापकोटा
गुलरिया( बर्दिया), मङ्सिर २२ गते । बर्दियाको गुलरिया नगरपालिका भित्रका पाँच ओटा माध्यमिक विद्यालय तीन तारा घोषणा हुने भएको छन् ।घोषणा हुने भनिएका मध्ये नेपाल राष्ट्रिय शम्भु शरण माध्यमिक विद्यालय खैरापुर तीन तारा घोषणा भइसकेको छ भने चार ओटा विद्यालय घोषणा हुने तयारीमा रहेका छन् ।
ध्रुव माध्यमिक विद्यालय तुल्सीपुर मङ्सिर २७ गते, गौरीशङ्कर माध्यमिक विद्यालय डल्लापुर पुस १ गते , बंगलामुखी राधाकृष्ण थारू पुस ४ गते तीन तारा घोषणा हुने तयारीमा छन् भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भैंसाहीको मिति तय भएको छैन ।
सरकारले विद्यालय तहको खानेपानी सरसफाइ र स्वच्छताको सुधार गरी विद्यालय शिक्षाको गुणस्तरीयता कायम गर्ने उद्देश्यले २०७४ सालमा कार्यविधि ल्याएको थियो ।
नेपाल सरकारको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुरूप मापदण्ड पुगेकाले विद्यालयलाई तेस्रो तारा घोषणा गर्ने तयारी भएको गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गौतमले बताउनुभयो ।
उहाँका अनुसार सरकारले बनाएको कार्यविधि अनुसार नगरपालिकामा विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि बनाएर विद्यालयको खानेपानी सरसफाइको मापदण्ड तोकेको बताउनुभयो ।
नगरपालिकाले बनाएको कार्यविधि अनुसार अनुगमन गरी मल्याङ्कन गर्दा तेस्रो तारामा पनि ३० अङ्क ल्याए पछि नगरपालिकाको सामाजिक विकास समितिले तीन तारे विद्यालय घोषणा गर्ने निर्णय गरेको हो ।
तीन ताराको स्तरमा पुगेको विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा पहुँच युक्त सुरक्षित खानेपानी र शौचालयको सुविधा, विद्यालयमा फोहोरमैला व्यवस्थापन, साबुन पानीले हात धुने सुविधा, विद्यालयमा फूलबारी बगैँचाको व्यवस्था, दिवा खाजाको व्यवस्था गरिएको हुन्छ ।
त्यसैगरी विद्यालयमा सरसफाइ युक्त व्यवहार परिवर्तनका साथै खानेपानी सरसफाइ मर्मत सम्हाल कोषको समेत व्यवस्था गरिएको हुनुपर्दछ । बर्दियामा नेपाल सरकारको कार्यविधि अनुसार बेस बर्दियाको सहकार्यमा पाँच ओटा स्थानीय तहमा गुलरिया, बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाले विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि बनाई लागू गरेको थियो ।
३३ ओटा विद्यालयमा कार्यविधि लागू गरिएकोमा ११ ओटा विद्यालय मापदण्ड पुरा गरि तीन तारा घोषणा भइसकेका छन् ।पाँच ओटा विद्यालय घोषणा हुने तयारी भइरहेको बेस बर्दियाका परियोजना संयोजक जददिश प्रसाद चौधरीले बताउनुभयो ।
वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा बेस संस्था द्वारा वास गेन्स परियोजना सञ्चालनमा छ ।
सो परियोजनाले नेपाल सरकारको मापदण्ड अनुसार जिल्लाका विद्यालयको खानेपानी सरसफाइ र स्वच्छता कायम गर्न काम भइरहेको छ ।