• २२ मङ्सिर २०८२, सोमबार

टिम चेसमा ललितपुर महानगरपालिकाको जित

blog

काठमाडौँ, मङ्सिर २१ गते । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप सुरु भएको छ। प्रतियोगिातको पहिलो दिन आइतबार शीर्ष खेलाडीसम्मिलित २२ टोलीले प्रतिस्पर्धा गरेका छन् । 

पहिलो खेलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले काठमाडौँ चेस क्लबमाथि जित निकालेको छ । ललितपुर महानगरपालिका टिमले भक्तपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गरेको छ । 

यस्तै साविक विजेता थापाथली चेस पार्कले सुदुरपश्चिम बुद्धिचाल संघलाई, दोलखा चेस होमले गोदावरी नगरपालिकलाई, पेभिलोन चेस एकेडेमले ललितपुर जिल्ला बुद्धिचाल संघलाई हरायो । 

यस्तै मध्यपुर थिमि नगर चेसले हिमालयन चेस एकेडेमीलाई, कास्की जिल्ला बुद्धिचाल संघले पुल्चोक इन्जिनियरिङ क्याम्पस र महालक्ष्मी नगरपालिकाले पूर्वेली ब्रदर्शलाई हराउन सफल भयो । 

लितपुरको कुमारी पाटी स्थित क्यास्पियन कलेजमा सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतिस्पर्धाका विजेताले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उपविजेता टिमले एक लाख, तृतीय हुनेले ६० हजार र चौथो हुनेले ४० हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

पाँचौँदेखि सातौँ सम्मका टिमले समान २० हजार तथा ब्यक्तिगत पाँच उत्कृष्ट खेलाडीले जनही १० हजार रुपियाँ पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको बागमती प्रदेश सभासद् रघुनाथ महर्जनले उद्घाटन गर्नुभयो ।