• २१ मङ्सिर २०८२, आइतबार

महिलामाथिको हिंसाको स्वरूप बदलिँदै छ, कम भएको छैन : न्यायाधीश प्रधान

blog

काठमाडौँ, मङ्सिर २१ गते । प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताउनुभएकाे छ । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा नेपाल टुरिजम बोर्डले संयुक्तरूपमा आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश प्रधानले भनिन्, ‘प्रविधिसँग समाज जोड्नुपर्छ र परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्छ ।’

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा न्यायाधीश प्रधानले समाजमा परम्परागत हिंसा कायमै रहेको बताउनु भयाे । उहाँले लघुताभाष र पितृसत्तात्मक सोचले समाजमा हिंसा कायमै रहेको बताउनुभयाे । अहिले नेपाली समाजमा हिंसा न्यूनिकरण भएको छैन, हिंसाको स्वरूप परिवर्तन भएर विद्यमान रहिरहेको छ, उहाँले भन्नुभयाे, ‘अदृश्य शक्तिले समाजको आवाजलाई बाहिर आउन दिएको छैन, महिलामाथिको अन्याय निरन्तर छ, यसलाई न्यूनीकरण गर्नका लागि अन्तरस्थितिसँग जोडिँदै जानुपर्छ ।’

न्याय सम्पादनको क्रममा आफ्नो अनुभव सुनाउँदै न्यायाधीश प्रधानले घरेलु हिंसामा ९९ प्रतिशत महिला पीडित भएको मुद्दा आउने गरेको जानकारी दिनुभयाे । समाजमा पुरुष पनि पीडित हुने गरेको तर उनीहरूको सङ्ख्या एक प्रतिशतभन्दा बढी नभएको उहाँकाे भनाइ छ । 

उहाँका अनुसार महिलाविरुद्ध हुने हिंसा घर, सार्वजनिक स्थल, कार्यस्थललगायत सबै ठाउँमा हुने गरेको छ । घरभित्र कानुन प्रवेश गर्छ भन्ने कुरा वैवाहिक हिंसा एउटा उदाहरण भएको प्रस्तुत गर्दै उहाँले भन्नुभयाे, ‘यौन हिंसा मात्र होइन, अधिकार पनि हो । यौनलाई अधिकारको रूपमा प्रयोग गर्न पुरुषप्रधान समाजको मनस्थिति पहिला परिवर्तन हुनु पर्छ ।’

‘सबै पुरुष हिंस्रक हुँदैनन्, पुरुषको पनि साथ लिएर अघि बढ्दा समाजमा छिटो र प्रभावकारी परिवर्तन आउँछ’, ‘न्यायाधीश प्रधानले भन्नुभयाे, ‘महिला र पुरुषले सँगै उडान भर्ने हो भने र महिला हिंसाविरुद्ध संस्थागत प्रतिबद्धता जनाउने हो भने समाजमा व्याप्त हिंसालाई न्यूनीकरण गर्न सकिन्छ ।’

कार्यक्रममा नेपाल ल क्याम्पसकी प्राध्यापक मनिषा पौडेलले महिला हिंसाविरुद्धको १६ दिने अभियान क्याम्पसले विगत ४ वर्षदेखि सञ्चालन गरिरहेको जानकारी दिनुभयाे । उहाँले यस वर्ष भने फरक तरिकाबाट अभियान सञ्चालन गर्न नेपाल टुरिजम बोर्ड र एफडब्लुएलडीले साथ र सहयोग गरेको बताउनुभयाे । यस्ता कार्यक्रमले विद्यार्थीले आर्जन गरेको ज्ञान, सिप र अनुभवको परीक्षा हुने भएकाले महिला हिंसाविरुद्धको अभियान यो वर्ष नयाँ ढङ्गले सञ्चालन गरेको प्राध्यापक पौडेलले जानकारी दिनु भयाे । 

भाष्कर तेजश्री मेमोरियल फाउन्डेसनले महिला हिंसा र बालबालिकामा हुने गरेको हिंसाका बारेमा अध्ययन र अनुसन्धान गरिरहेको डा. रिता थापाले जानकारी दिनु भयाे । उहाँले स्कुलमा बालबालिकामा ६६ प्रतिशत र २२ प्रतिशत शिक्षकबाट हिंसा हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयाे । लुम्बिनी प्रदेशमा गरिएको एउटा अध्ययनको तथ्याङ्क प्रस्तुत गर्दै थापाले भन्नुभयाे, ७४ प्रतिशत महिलामा यौन दुरव्यवहार हुने गरेको त्यसमध्ये पनि १० वर्षमुनिका ३१ प्रतिशत बालबालिकामा यौन हिंसा हुने गरेको छ ।’

कार्यक्रममा नेपाल ल क्याम्पसका विद्यार्थीले हिंसालाई शुन्यमा झार्न सहयात्रा सुरु गरौं नाटक प्रस्तुत गरेका थिए भने महिला हिंसा विरुद्ध बनाइएका विभिन्न कला प्रदर्शनी पनि गरिएको थियो । कार्यक्रमको अन्त्यमा हिंसाविरुद्ध प्यानल डिस्कसन भएको थियो ।  

छलफलमा महिला आयोगकी विद्याकुमार सिन्हा, मानवअधिकारवादी रेणु राज भण्डारी र एफडब्लुएलडीका अधिवक्ता सुष्मा गौतम सहभागी थिए । छलफलमा अधिवक्ता सुष्मा गौतमले महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त नबनाउँदासम्म उनीहरूमाथि परिवार र समाजका सदस्यले हिंसा गर्ने अवस्थाको अन्त्य हुन नसक्ने र त्यसका लागि महिलालाई शिक्षा र रोजगारीका अवसर मिलाउन सरकारले पहल गर्न पर्नेमा जोड दिनुभयाे । सोक्रममा उहाँले भएका कानुन कार्यान्वयन गर्न सकेपनि हालको अवस्थामा केही परिवर्तन देखिने बताउँदै भन्नुभयाे, "हामीले लामो समय कानुन ल्याउनमा खर्च गरेका छौँ र अबको काम भनेको भएका कानुन व्यवहारमा चरितार्थ गर्नु हो ।"