यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर २१ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङको आर्थिक सहयोगमा नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत पर्ने फू गाउँभित्रको पैदल गोरेटो बाटो स्तरोन्नति गरिएको छ । स्थानीय बासिन्दाको लामो समयदेखिको मागअनुसार पाँच लाख रुपियाँको लागतमा गोरेटोबाटो सुधार गरी प्रयोगयोग्य र सुरक्षित बनाइएको हो ।
समुद्र सतहबाट ४१०० मिटरको उचाइमा अवस्थित फू गाउँभित्रको करिब १७७ मिटर लम्बाइका गोरेटोबाटोमा छपनी ओछ्याउने, पर्खाल लगाउने तथा सिँढी निर्माण गर्ने जस्ता कामहरू सम्पन्न गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयले मनाङले जनाएको छ ।
उकालो–ओरालो धेरै रहेको भौगोलिक अवस्थाका कारण पैदल आवतजावतमा कठिनाइ भोग्दै आएका स्थानीय बासिन्दा तथा गाउँ भ्रमणमा आउने पर्यटकहरूको सहज यात्रा सुनिश्चित गर्न स्तरोन्नति कार्य महत्वपूर्ण भएकाले एक्यापको पाँच लाख रुपियाँको सहयोग गाउँभित्रको पैदल गोरेटो बाटो स्तरोन्नति कार्य सम्पन्न गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो ।
स्थानीयवासीका अनुसार वर्षायाममा बाटो चिप्लो हुने, ढुङ्गामाटो बग्ने तथा कतिपय स्थानमा जोखिम बढ्ने भएपछि संरक्षण कार्यालयसँग पहल गरिएको थियो । उक्त मागलाई प्राथमिकता दिँदै एक्यापले आवश्यक बजेट उपलब्ध गराएपछि निर्माण कार्य समयमै सम्पन्न भएको हो । गोरेटोबाटो स्तरोन्नतिसँगै गाउँभित्रका दैनिक क्रियाकलाप, सामान ढुवानी तथा विद्यालय जाने बालबालिकाको आवतजावत पनि सहज हुने अपेक्षा गरिएको छ ।
मनाङ क्षेत्र पर्यटनका दृष्टिले महत्त्वपूर्ण मानिने हुँदा पदमार्गहरूको मर्मत–सम्भारले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय पर्यटन व्यवसायी सुनील गुरुङले बताउनुभयो । उहाँले व्यवस्थित पदमार्ग तथा आधारभूत पूर्वाधारका कारण पर्यटकहरूको बसाइ अवधि बढ्ने र गाउँले आर्थिक लाभ लिन सक्ने बताउनुभयो ।
गोरेटोबाटो स्तरोन्नतिले फू गाउँको समग्र विकासमा नयाँ ऊर्जा थपेको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । एक्यापको निरन्तर सहयोगले गाउँका अन्य आवश्यक पूर्वाधारमा पनि ध्यान पुग्ने विश्वास आफूले लिएको गुरुङले बताउनुभयो ।