• १३ साउन २०८१, आइतबार

बाल सुधार गृहमा पाँच दिने योग शिविर सुरु

blog

बाँकेको डुडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहमा द आर्ट अफ लिभिङ नेपालगञ्जले आयोजना गरेको नव चेतना शिविर

नेपालगञ्ज, असार २४ गते । बाँकेको डुडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहमा योग शिविर सुरु भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोग, जयेन्दु बाल सुधार गृहको समन्वयमा द आर्ट अफ लिभिङ नेपालगञ्जले पाँच दिने नव चेतना शिविर सञ्चालन गरेको हो ।

गत १९ गते द आर्ट अफ लिभिङले जयेन्दु बाल सुधार गृहमा आयोजना गरेको ‘डिभाइन सेसन विथ स्वामीजी’ विषयक कार्यक्रममा भारतको बैंग्लोर आश्रमबाट आएका स्वामी पूर्णतेज र द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाले योग शिविर आयोजना गर्ने प्रतिबद्धता जनाए अनुसार नै नव चेतना शिविर सञ्चालन गरिएको हो ।


आर्ट अफ लिभिङका स्वयंसेवकद्वय शंकरप्रसाद खनाल र सुधीर गौतमले शिविरमा सहजीकरण गरिरहेका छन् । शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान, मनोरञ्जनमूलक खेल, सत्सङ, सेवाका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

सुधार केन्द्रकी इञ्चार्ज विमला काउचाले बाल सुधार गृहमा बसेका बालकलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न योग शिविर सञ्चालन गरिएको बताइन् । उहाँले भन्नुभयो, ‘‘यो सुधार गृह तपाईहरुको लागि होस्टेल हो । यहाँ शिक्षा, खेलकुद, मनोञ्जनका साथै योग, ध्यान र ज्ञानका साथै सीपमूलक तालिम सञ्चालन गरेर तपाईहरुमा रहेको क्षमता उजागर गर्ने र क्षमता अभिवृद्धि गर्र्ने काम हुनेछ ।’’ शिविरमा १२–१८ वर्ष उमेर समूहका ६८ जना बालकहरु सहभागी भएका छन् ।