काठमाडौँ, मङ्सिर २० गते । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियाको बढैयाताल–४ को भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाको छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री कार्कीले यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिनुभएको हो । घटनाले आफूलाई मर्माहत बनाएको उहाँको भनाइ छ । यो सबै घटनाप्रति उहाँले प्रधानमन्त्रीका रुपमा माफी माग्नुभएको छ ।
‘बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उहाँका ६१ वर्षीय बाबुसमेत नरहेको घटनाले मर्माहत बनाएको छ। उहाँहरुको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो’, प्रधानमन्त्री कार्कीले भन्नुभएको छ, ‘न्यायिक प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रुपमा म माफी चाहन्छु। यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न माननीय गृहमन्त्रीज्यूलाई निर्देशन दिएकी छु।’
प्रधानमन्त्री कार्कीले नागरिकतालगायत लैङ्गिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य नहुने भन्दै न्यायको मार्गमा सबै पक्षले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नागरिकतालगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य होइन। न्यायको मार्गमा सबै पक्षले सहजीकरण गरौँ।’
नागरिकता नबनेकै पीडामा केही समयअघि अञ्जु थारुले आत्महत्या गरेको खबर सार्वजनिक भएको थियो । छोरीको मृत्युको केही दिनमै ६१ वर्षीय बुबा कान्छा थारुको समेत निधन भएको थियो ।