• ११ वैशाख २०८३, शुक्रबार

बिपी राजमार्गको पुनर्निर्माण धमाधम

जनशक्ति थप र विद्युतको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ बिपी राजमार्गको पुनर्निर्माणको स्थलगत अनुगमन गर्नुहुँदै ।

काठमाडौँ, मङ्सिर १९ गते । गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्‍याएको बिपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक-सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो ।

क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ । त्यसमध्ये ४ खण्डका पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का सहयायतामा पुनर्निर्माण हुने छ । यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार त्यस क्षेत्रको स्थलगत अनुगमन गरी सडक पुनर्निर्माणका विषयमा जानकारी लिनुभएको छ । सडक विभागका महानिर्देशक विजय जैशी, सङ्घीय सडक सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख सुभराज न्यौपानेलगायतका टोलीसहित अनुगमनमा पुग्नु भएको घिसिङले सडकको विभिन्न खण्डमा भइरहेको पुनर्निर्माण, निर्माण सम्पन्न हुने तालिका, यातायात सञ्चालनका लागि हाल अस्थायी रूपमा गरिएको डाइसर्भनको व्यवस्था, जाइकाले निर्माण गर्ने खण्डको तयारी अवस्थालगायतका विषयमा छलफल गर्नुभएको थियो ।

हाल अस्थायी रूपमा सवारी साधनका लागि खोला किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरु भएसँगै काम नगर्ने उल्लेख गर्दै मन्त्री घिसिङले यसतर्फ विशेष ध्यान दिई वर्षायाम सुरु हुनुभन्दा अगाडि नै आवश्यक संरचनाको निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले जनशक्ति थप र विद्युतको व्यवस्था गरी राति पनि काम गर्ने व्यवस्था गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

सङ्घीय राजधानीलाई पूर्वी क्षेत्रसँग जोड्नका लागि महत्त्वपूर्ण रहेको उक्त बिपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाई रहेको बिपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडियट लेनलाई क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाई पुनर्निर्माण गरिँदैछ ।