निराजन परियार
चौमाला (कैलाली), मङ्सिर १९ गते । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, गौरीघाट सामुदायिक वनबाट अवैध रूपमा कटान गरी गायब पारिएका १६४ रुखको अनुसन्धान थालिएको छ ।
गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ घण्टाको बिचमा रुख कटान गरेर चोरी गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
गौरीघाट सामुदायिक वनबाट अवैध रुपमा रुख तस्करीबारे डिभिजन वन कार्यालय कञ्चनपुर सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत खटाइ विस्तृत अनुसन्धान थालेको हो ।
डिभिजन वन कार्यालय कञ्चनपुरले मङ्गलबार साहलाई पत्राचार गरी अनुसन्धान गर्न जिम्मेवारी दिएको थियो । प्रमुख साहले गौरीघाट सामुदायिक वनमा १७ गते बुधबारदेखि तस्करी भएको वन क्षेत्रको अनुगमन गरेर अनुसन्धान थालेकोे छ ।
अनुगमन क्रममा काटिएको अवस्थामा सामुदायिक वनबाट १३० खयरका रुख, ३३ सिसम र एक कन्जुगरेर १६४ रुख काटेको देखिएको अनुसन्धान अधिकृत भरत शाहले बताउनुभयो ।
गौरीघाट सामुदायिक वनमा पहिलो चरणमा सबडिभिजन वन कार्यालय पिपरैयाले १३९ रुख काटेको फेला पारेको थियो, भने पुनःस्थलगत नापजाँच गर्दा अनुसन्धान बाट थप २५ रुख फेला परेको शाहले जानकारी दिनुभयो ।
अनुसन्धानको क्रममा अधिकांश रुखहरु गायब गरिएको र केही छुटफुट रुखहरु बनमा नै छोडेर गएको पाइएको छ ।अहिले आशङ्का लागेका व्यक्तिलाई निगरानी गर्ने, पत्राचार गरी बयान लिने कार्य भइरहेको र धेरै व्यक्ति कारबाहीको दायरामा पर्ने उहाँको भनाइ छ ।
प्रारम्भिक स्थलगत अनुसन्धानमा गौरीघाट सामुदायिक वनमा अवैध तरिकारले रुख कटानको विषयमा कृष्णपुर नगरपालिका नगरप्रमुख हेमराज ओझा र वडा नम्बर ७ का अध्यक्ष घुम्मन राना, स्थानीय उपभोक्ता समूह, बन पदाधिकारीमाथि सोधपुछ सुरु भएको शाहको भनाइ छ ।
अनुन्धान अधिकृत शाहले बिना इजाजत कानुन विपरित रुख कटान गरेको पाइएको उल्लेख गर्दै वन ऐन अनुसार कारबाही गर्ने बताउनुभयो ।
वडा कार्यालय भवन अगाडिका १० बिघामा रहेको जङ्गल क्षेत्रमा कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षा अध्ययनका लागि कलेज खोल्न पटक पटक अनुगमन समेत गरिएको थियो । कलेजका लागि हेरिएको जमिन भने बन क्षेत्रबाट अलग स्थानमा रहेको पाइएको छ ।
पिपरैया सवडिभिजन कार्यालयका प्रमुख मोहनदत्त भट्टले मिलेमतोमा रुख कटान गरिएको आरोप लगाउनुभयो ।
कृष्णपुर नगरपालिका–७,का वडाध्यक्ष घुम्मन रानाले रुख कटानको विषयमा आफूलाई जानकारी समेत नभएको बताउनुभयो । उहाँले उक्त रुखहरु किन कसरी कटान गरिए अनुसन्धानबाट खुल्ने बताउनुभयो ।
त्यस्तै, गौरीघाट सामुदायिक वनका अध्यक्ष कुमारी बोहराले पनि उक्त दिन आफु बिहेमा भएकोले रुख कटानको बारेमा केही जानकारी समेत नभएको बताउनुभयो ।
स्थानीय सुरेनद्र धामीले सत्य तथ्य पत्ता लगाए दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।