• १९ मङ्सिर २०८२, शुक्रबार

हर्षोल्लासका साथ मनाइयो उँधौली

blog

उँधौली पर्वका अवसरमा उदयपुरको गाईघाटस्थित साकेला थानमा बिहीबार शिली नाच्दै किराँत समुदायका युवा । तस्बिर: भक्तिविलास पोखरेल

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १९ गते  । मङ्सिर पूर्णिमाका अवसरमा किराँत समुदायले पितृका साथै प्रकृतिको समेत मान, सम्मानका लागि नृत्यको भावभङ्गीमा पूजा प्रार्थना गर्दै बिहीबार उँधौली पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

मङ्सिर पूर्णिमाका दिन मनाइने उँधौली पर्वमा नयाँ अन्नबाली पाकेर घरमा थन्क्याइएको खुसियालीमा किराँत समुदायले आआफ्ना इष्टदेवतालाई चढाउने र आफू खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने प्रचलन छ ।

उँधौली पर्वले जाडो बढेकाले हिमाली, पहाडी उच्च भेगमा बसोबास गर्ने मानिस, जीवजन्तु तथा चराचुरुङ्गीसमेत लेक (माथि) बाट बेँसीतिर न्यानो मौसमको खोजीमा बसाइँ सर्ने समय आएको सङ्केत गर्ने भनाइ रहेको छ । 

किराँत समुदाय अन्तर्गत याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका रूपमा मङ्सिर पूर्णिमा पर्व मनाउने प्रचलन पाइन्छ । किराँत महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर च्याब्रुङ बाजाका तालमा धाननाच नाच्दै उल्लासपूर्वक पर्व मनाएका छन् । सीता राईका अनुसार यस पर्वमा प्रकृति, पितृ, अन्नबालीप्रति कृतज्ञता व्यक्त गर्दै साकेला स्थानमा पनि पूजाआराधना गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने, पारिवारिक भेटघाट गर्ने परम्परा रहेको छ । 

शिली नाच्दै मनाइयो साकेला

गाईघाट । किराँत/राई समुुदायले पूर्वी नेपालमा विशेष रूपले मनाउने ‘साकेला (उँधौली) पर्व उदयपुरको सदरमुकाम गाईघाटमा भव्य रूपले मनाउन सुरु गरिएको छ । किराँत राई समुदायले ढोल, झ्याम्टा बजाउँदै, सेउली हल्लाउँदैै एक महिनासम्म साकेला शिली नाचेर उँधौली पर्व मनाउने परम्परा छ । 

बिहान सबेरै साकेला थान, सिकारी थान र माछाकुु अर्थात् पितृ घरमा किराँत धामीले पूजा गरेर नाचको थालनी गर्ने प्रचलन अनुसार गाईघाटस्थित साकेला थानमा किराँत धामी भरत राईले किराँत धर्मको मान्यता, विधि र मौलिक संस्कृति अनुसार पूजा गरेपछि यहाँ शिली नाचको सुरुवात भएको हो । किराँती वेशभूषामा सजिएर राई समुदायले साकेला थानमा शिली नाचेर हर्ष उल्लाससाथ यो पर्व मनाइरहेका छन् । 

उदयपुरको सदरमुकाम गाईघाटस्थित साकेला थानमा जिल्लाको विभिन्न ठाउँका राई समुुदायका मानिस जम्मा भएर शिली नाचको आयोजना गरिएको किराँत राई यायोख्खा त्रियुगा नगर कमिटीका अध्यक्ष सर्वधन राईले बताउनुभयो । 

अबको एक महिनासम्म लगातार सञ्चालन हुने उक्त साकेला शिली नाचमा त्रियुगा नगरपालिका, चौदण्डीगढी र वेलका नगरपालिका क्षेत्रका असारी, मोतीगढा, बोक्से, जलजले, बगाहा, रातमाटे, बेल्टार, बसाहा, मुर्कुचीलगायतका स्थानबाट सयौँको सङ्ख्यामा आएका मानिस जम्मा हुने र हरेक दिन सामूहिक नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको किराँत राई यायोख्खा उदयपुरकी अध्यक्ष गङ्गा राईले बताउनुभयो ।

वैशाखी पूर्णिमामा उँभौली र मङ्सिरे अर्थात् धान्यपूर्णिमामा उँधौली गरी वर्षमा दुुई पटक मनाइने यो पर्व किराँत सभ्यताको विशेष पर्व हो । वर्षमा दुुई पटक पर्व मनाउनुुको विशेष अर्थ र महìव छ । सोई ढोले सोई अर्काे ढोले खोई भनेर सामूहिक नृत्य प्रस्तुत भएर पर्वमा चुुल्ला पूजा गर्ने, पितृलाई सम्झने, छोरीचेली, आफन्तजनसँग भेटघाट र शुुभकामना आदानप्रदान गर्ने गरिन्छ । 

‘साकेला छिरीनाम २०८२’ का अवसरमा सदरमुकाम गाईघाटमा बिहीबार आयोजित सामूहिक भूमि (सिकारी) पूजा तथा चुलो पूजा र पितृ तर्पण कार्यव्रmम गरियो । भाषाशास्त्री डा. कैलाश राईले वल्लो किराँत, पल्लो किराँत र माझ किराँत जस्ता नामले समेत प्रख्यात भएका पूूर्वी नेपालका जिल्ला उदयपुर, खोटाङ, ओखलढुुङ्गा, भोजपुुर, धनकुुटा, सुुनसरी, मोरङ, इलाम, झापालगायतमा यो पर्व भव्य रूपले मनाइने गरिएको बताउनुभयो । 

डा. राईले नेपालीभन्दा किराँत संवत् करिब तीन हजार वर्ष जेठो र अङ्ग्रेजी इस्वी संवत्भन्दा ६० वर्ष पुरानो भएकाले यो विश्वकै पुरानो मानव सभ्यता भएको बताउनुभयो । हाल किराँत संवत् (येले दुङ) ५०८२ चलिरहेको र आउँदो माघ १ गतेदेखि येले दुङ ५०८३ सुरु हुन्छ । यो संवत् विश्वभरका संवत्मध्ये सबभन्दा पुरानो र किराँती राजा यलम्बरको शासनकालदेखि चलिआएको तथ्य डा. राईले पेस गर्नुभएको छ ।