• १८ मङ्सिर २०८२, बिहिबार

अमेरिकाको नयाँ राडारले भेनेजुएला निगरानी

blog

पोर्ट अफ स्पेन, मङ्सिर १८ गते । ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कमला पर्साद-बिसेसरले बुधबार संयुक्त राज्य अमेरिकाले द्वीपमा जडान गरेको नयाँ राडार प्रणालीको उद्देश्य लागुऔषध तस्करी नियन्त्रण गर्नुका साथै वासिङ्टनले प्रतिबन्ध लगाएको भेनेजुएलाको कच्चा तेलको अवैध आवागमन रोक्ने रहेको बताउनुभएको छ ।

हालका महिनामा वासिङ्टनले भेनेजुएलाको तटदेखि केही दूरीमा रहेको ट्रिनिडाड एन्ड टोबागोसँग सैन्य सहकार्य तीव्र बनाउँदै आएको छ । काराकासले यसलाई आक्रामक सङ्केत भन्दै कडा आपत्ति जनाएको छ । विशेष गरी अमेरिकी निर्देशित मिसाइल विध्वंसक सहभागी रहेको सैन्य अभ्यासलाई ‘उक्साहटमूलक’ भन्दै मदुरो प्रशासनलाई अपदस्थ गर्न अमेरिकी प्रयासको हिस्सा भएको काराकासले आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा वासिङ्टनले मदुरो सरकारमाथिको दबाब अझ बढाएको छ । ट्रम्प प्रशासनले भेनेजुएलालाई लागुऔषध गिरोह संलग्न राज्यका रूपमा चित्रित गर्दै उसको राजनीतिक वैधतालाई अस्वीकार गर्ने नीति अघि बढाएको छ । ट्रम्पको दृढ समर्थक मानिनुहुने प्रधानमन्त्री पर्साद–बिसेसरले नोभेम्बर २७ मा टेलिभिजन कार्यक्रममार्फत अमेरिकाले नयाँ विमानस्थलमा राडार जडान गर्ने पुष्टि गर्नु भएको थियो । 

बुधबार जारी गरिएको उहाँको नयाँ वक्तव्यमा अमेरिकी राडारको मुख्य लक्ष्य प्रतिबन्धित भेनेजुएलाली कच्चा तेलसँग जोडिएका अवैध गतिविधि पत्ता लगाएर थाम्ने रहेको पुनः उल्लेख गरिएको छ । “पछिल्लो राडारले भेनेजुएलाबाट हाम्रो भूमिभित्र आइरहेका लागुऔषध, हतियार, गोलाबारुद, अवैध आप्रवासी तथा प्रतिबन्ध छल्ने उद्देश्यले भइरहेको कच्चा तेलसम्बन्धी तस्करी गतिविधि पहिचान गर्न मद्दत गर्दछ”, प्रधानमन्त्रीले विज्ञप्तिमा भन्नुभएको छ ।

ट्रम्प प्रशासनले सन् २०१९ मा आफ्नो पहिलो कार्यकालमै भेनेजुएलाको तेलमाथि कडा प्रतिबन्ध लगाएको थियो । दोस्रो कार्यकालसम्म आइपुग्दा ती प्रतिबन्ध जस्ताको तस्तै राखिएको छ । पर्साद-बिसेसरले भन्नुभयो, “नयाँ उपकरणले ट्रिनिडाड एन्ड टोबागोको हवाई तथा समुद्री निगरानी क्षमता उल्लेखनीय रूपमा बढाइसकेको छ, जसले हामीलाई पहिले उपलब्ध नभएको सुरक्षा स्तर प्रदान गर्दछ ।”

तर काराकासले प्रधानमन्त्री पर्साद-बिसेसरलाई अमेरिकाको भेनेजुएला विरोधी योजनामा सहभागी भएको आरोप लगाउँदै आलोचना गरेको छ । भेनेजुएलामा सैन्य हस्तक्षेपका लागि ट्रिनिडाड एन्ड टोबागोको भूभाग प्रयोग गर्ने अमेरिकी योजनामा आफूहरुको संलग्नता रहेको भन्दै उठेको आरोपलाई प्रधानमन्त्रीले अस्वीकार गर्नु भएको छ ।

यसैबिच, गत अगस्टदेखि वासिङ्टनले क्यारिबियन क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो विमानवाहकसहित युद्धपोतको ठूलो बेडा तैनाथ गरेको छ । लागुऔषध तस्करीविरुद्धको अभियान शीर्षकमा चलाइएका कम्तीमा २२ वटा समुद्री आक्रमणले ८३ जनाको ज्यान लिएको पुष्टि भइसकेको छ । अन्तर्राष्ट्रिय कानूनी विशेषज्ञले यस्ता प्रहारलाई सम्भावितरूपमा अवैध तथा गैरन्यायिक हत्याको श्रेणीमा पर्न सक्ने चेतावनी दिएका छन् । रासस/एएफपी