मस्को, मङ्सिर १८ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि आज मस्कोबाट प्रस्थान गर्नु भएको छ । उहाँको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत यात्रा हो ।
पुटिनले यसअघि सन् २०२१ डिसेम्बरमा भारतको अन्तिम आधिकारिक भ्रमण गर्नु भएको थियो । यस पटकको भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भइरहेको हो । रुसी सञ्चारमाध्यमका अनुसार पुटिनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक, सांस्कृतिक तथा मानवीय विषयमा सहयोग अभिवृद्धिका लागि विस्तृत छलफल गर्ने छ ।
साथै वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा पनि मुख्य एजेन्डामा समेटिने छन् । तास समाचार एजेन्सीका अनुसार भ्रमणका क्रममा १० वटा अन्तरसरकारी दस्तावेज र १५ भन्दा बढी द्विपक्षीय सम्झौता तथा दुई देशका व्यापारिक तथा गैर-व्यावसायिक निकायबिचका ज्ञापन पत्र हस्ताक्षरका लागि तयारी अवस्थामा छन् ।
राष्ट्रपति पुटिन आज साँझ २३ औँ भारत-रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले उहाँको सम्मानमा निजी रात्रि भोजको आयोजना गर्ने तयारी गर्नु भएको छ । डिसेम्बर ५ अर्थात् शुक्रबार राष्ट्रपति पुटिनले राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा त्रिसेवा गार्ड अफ अनर प्राप्त गर्नु हुने छ । त्यसपछि उहाँले राजघाट पुगेर महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।
दुवै देशका नेता हैदराबाद हाउसमा सीमित स्वरूपमा द्विपक्षीय वार्ता गर्दै त्यसपछि आ-आफ्ना प्रतिनिधिमण्डलसहित व्यापक छलफलमा सहभागी हुनुहुने छ । अपेक्षा गरिएअनुसार व्यापार, अर्थतन्त्र, कृषि तथा शिक्षा क्षेत्रमा सहकार्यका विषयलाई प्राथमिकता दिइने छ ।
भारतको विदेश मन्त्रालयले पुटिनको भ्रमणले द्विपक्षीय सम्बन्धको प्रगतिमा समग्र समीक्षा गर्ने, ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’सुदृढ पार्ने तथा आपसी हितका क्षेत्रीय-वैश्विक विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने जनाएको छ ।
पुटिनको भ्रमणअघि रुसका प्रथम उपप्रधानमन्त्री तथा भारत-रुस अन्तरसरकारी आयोगका सह-अध्यक्ष डेनिस मान्टुरोभले यस यात्रालाई दुई देशबिचको दीर्घकालीन रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने महत्त्वपूर्ण कदमका रूपमा वर्णन गर्दै उच्चस्तरीय वार्षिक शिखर सम्मेलनको परम्परामा पुनरागमन भएको बताउनुभएको थियो ।
यसैबिच, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भ्रमणका क्रममा अतिरिक्त एस-४०० लामो दूरीको एन्टी-एयरक्राफ्ट मिसाइल सिस्टमको बिक्रीसम्बन्धी प्रस्ताव एजेन्डामा हुन सक्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, “रुसी हतियार भारतीय सेनाको करिब ३६ प्रतिशत हिस्सा छन् र यो सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ ।”
रुसले भारतलाई पाँचौ पुस्ताको अत्याधुनिक स्टिल्थ लडाकू विमान एसयु-५७ प्रदान गर्ने सम्भावनाबारे पनि छलफल गर्ने आशा व्यक्त गरेको छ । पेसकोभका शब्दमा, “एसयु-५७ विश्वकै उत्कृष्ट विमान मध्ये एक हो र यसको विषयमा छलफल हुन सक्ने छ ।” पेसकोभले रणनीतिक क्षेत्रको सहकार्यबारे ब्रह्मोस मिसाइल परियोजनालाई उदाहरण दिँदै हतियार उत्पादन मात्र नभई उच्च प्रविधिको आदानप्रदान नै दुई देशबिचको सहकार्यको आधार भएको बताउनुभयो ।
उहाँका अनुसार भारत-रुसबिच आणविक उर्जा क्षेत्रमा पनि नयाँ सम्झौता हुन सक्ने छ । दुवै नेताले अन्तिम पटक यस वर्ष सेप्टेम्बर १ मा चीनको तियानजिनमा आयोजित एससिओ शिखर सम्मेलनको साइडलाइनमा भेट गर्नु भएको थियो । यस पटकको भ्रमणले सन् २००० मा स्थापना भएको रणनीतिक साझेदारीको २५ औँ वार्षिकोत्सवलाई पनि चिह्नित गर्दछ ।
सन् २०१० मा पुटिनको भारत भ्रमणकै क्रममा यो साझेदारी ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’का रूपमा उकासिएको थियो । हाल दुवै देशले सन् २०३० सम्म द्विपक्षीय व्यापार एक खर्ब डलरसम्म पुर्याउने लक्ष्य राखेका छन् । सन् २०२४-२५ मा भारत-रुस व्यापार ६८ अर्ब ७० करोड डलर पुगेको छ ।
पुटिनसँग रक्षामन्त्री आन्द्रे बेलोसोभसहित उच्चस्तरीय प्रतिनिधिमण्डल आएको छ । प्रतिनिधिमण्डलमा सङ्घीय भन्सार सेवा, रोसफिनमोनिटरिङ, सैन्य–प्राविधिक सहयोग सेवा, रोस्कोसमोस, रोसाटम, भिइबीडटआरएफ लगायतका प्रमुख संस्थानका प्रमुखको उपस्थितिसमेत रहने छ । व्यापारिक समुदायबाट रोजनेफ्ट, सबबैंक, रुसल, भिटिबी बैँक, ट्रान्सम्यासहोल्डिङ तथा अन्य ठुला कम्पनी प्रतिनिधि सहभागी हुने छन् । रासस/एएनआई