काठमाडौँ, मङ्सिर १८ गते । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देश्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।
यसमा काठमाडौँ उपत्यका छनोट प्रतियोगिता आइतबार सुरु हुँदैछ । उपत्यका छनोट प्रतियोगिता थिमि, भक्तपुरस्थित मिड भ्याली सेकेन्डरी स्कुलमा दुई दिन सञ्चालन हुने छ, जहाँ आठ स्कुलले नकआउटको आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौँ उपत्यका छनोट को विजेता टिम (स्कुल) राष्ट्रिय स्तरको एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गर्ने छ ।
त्यस्तै, क्षेत्रीय स्तरमा छनोट प्रतियोगिता पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा पनि आयोजना गरिने छ । प्रत्येक क्षेत्रका विजेता गरी कुल ६ टिमले एनकेएल सिजन २ कै अवसरमा हुने एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन् ।
एनकेएल सिजन २ को तयारीमा रहेको एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुट स्तरबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
यस प्रतियोगिताले नेपाली कबड्डी र एनकेएलप्रति आकर्षण बढ्ने आशा गरिएको एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताउनुभयो ।
ग्रासरुटबाट उत्पादित खेलाडी नै व्यावसायिक लिगको लागि तयार हुने विश्वास गरिएको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौँ माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो ।
पहिलो सिजनका दुई कप्तान काठमाडौँका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए । एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिने छ ।