• १७ मङ्सिर २०८२, बुधबार

शैक्षिक गुणस्तर बढाउन महायज्ञ

blog

बडिगाड गाउँपालिका –२ खर्बाङमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलको भवन । तस्बिर सौजन्यः कमल पौडेल

नवराज नेपाली 

बागलुङ (गलकोट), मंसिर १७ गते । बागलुङको बडिगाड गाउँपालिका –२ खर्बाङस्थित त्रिभुवन माध्यमिक विद्यालयले मंसिर २१ देखि २८ गतेसम्म श्रीमदभागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ । 

त्रिभुवन माविले व्यवस्थित बहुप्राबिधिक शिक्षालयका रुपमा विकास गर्न र छात्रावास निर्माणका लागि महायज्ञ सञ्चालन गर्ने भएको हो । बागलुङमा पत्रकार सम्मेलन गरी विद्यालयले महायज्ञ बारेमा जानकारी गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुषालले पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएपछि प्राबिधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने अवस्था आएको बताउनुभयो । 

अहिले बाली विज्ञान पढाइ हुँदैआएको भन्दै अन्य विषय पनि पठनपाठन गर्नुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ छ । यहाँ एक हजार १८७ जना विद्यार्थीले अध्ययन गर्दैआएका छन् । यस विद्यालयमा सामान्य परिवारका विद्यार्थी पढ्ने भन्दै धेरैले छात्रावासमा बस्न चाहने उहाँको भनाइ छ । 

अहिले सामान्य रुपमा छात्रावास सञ्चालन गरे पनि व्यवस्थित गर्न नसकिएको अध्यक्ष भुषालले बताउनुभयो । महायज्ञ पश्चात संकलन भएको रकमले व्यवस्थित छात्रावासका लागि पूर्वाधार निर्माण गरिने उहाँको  भनाइ छ । 

अध्यक्ष भुषालले भन्नुभयो,  ‘त्रिभुवन माध्यमिक विद्यालय जिल्लामै उत्कृष्ट छ, अझै पनि धेरै आवश्यकताहरु छन् । ती पूरा गर्नका लागि हामीहरुसँग स्रोत छैन, अहिले पनि सीमित दरबन्दी मात्र छ । हामीहरुले विभिन्न स्रोतबाट शिक्षक कर्मचारी राखेर काम गरिरहेका छौँ । छात्रावास व्यवस्थित गर्ने, बहुप्रबिधिक शिक्षालयका रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेका हौँ ।”

महायज्ञबाट पाँच करोड संकलन गर्ने लक्ष्य लिएको अध्यक्ष भुषालले  बताउनुभयो । महायज्ञ सुरु नहुँदै सहयोग आउन थालेको उहाँ बताउनुहुन्छ । महायज्ञ सम्पन्न गर्न करिब ५० लाख खर्च हुने अनुमान गरिएको छ ।