बैतडी समाचारदाता
बैतडी, मङ्सिर १७ गते । जन्म र मृत्यु शाश्वत सत्य भए पनि सुदूरपश्चिममा यही प्रक्रियालाई अपवित्र मान्ने चलन कायमै रहेको छ । महिनावारीलाई नानी छाउ, सुत्केरीलाई ठुली छाउ, मान्छेको मृत्यु भए मडेछाउ र शिल्पकार समुदायको जातीय छाउ मान्ने कुरीति कायमै छन् ।
शिशु जन्मेको घरलाई हुनी छाउ भएको घर भन्दै सगोत्रीबाहेक अरूले सो घरको पानी नखाने चलन छ । मृत्युमा पनि मडे छाउ भन्दै सो घरपरिवारको समाजमा पानी चल्दैन । धार्मिक दृष्टिले यस्ता कुप्रचलनको धर्मशास्त्रमा कुनै स्थान नभएको ज्योतिष पण्डित गणेशप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “किरियापुत्री लसुन प्याजसमेत नखाई वर्ष दिनसम्म वार्षिकी बसेका हुन्छन् । उसैलाई अपवित्र मान्ने कुसंस्कार छ । सगोत्रीबाहेक अरू मलामीसमेत नजाने चलन छ । महिलालाई मलामी जान र किरिया गर्न बन्देज छ । यस्ता कुप्रथा हटाउन जरुरी छ ।”
उहाँले सामाजिक कुरीति हटाउन हटाउन आफू दलित बस्तीमा गएर कर्मकाण्ड गर्ने अभियान थालेको बताउनुभयो । छाउपडी प्रथा र जातीय छुवाछुत हटाउन कानुन बने पनि कार्यान्वयन पक्ष फितलो हुँदा समाजिक कुप्रथा हट्न नसकेको दलित अगुवा मदन तिरुवाले बताउनुभयो । समाजका अन्य कुप्रचलनबारे स्थानीय सरकार र जिल्लामा कार्यरत राजनीति दलले अभियान सुरु गर्नुपर्ने उहाँको धारणा छ ।
चौबाटोमा अन्नको बुर्की
मृत्युका बेला मलामी जाँदा भूतप्रेतका लागि भन्दै चौबाटोमा बुर्कीका रूपमा १० देखि १५ किलो अन्न फाल्ने चलन रहेको छ । अन्नमा गहुँ, मकै, भटमास, चामल आदि राख्ने चलन छ । मृत व्यक्तिले प्रयोग गरेका लुगाकपडा, किताब, डायरी पनि मसानमै फाल्ने चलनले कतिपय महत्वपूर्ण व्यक्तिका असल कुरा हराउने गरेका छन् ।
सुदूरपश्चिम र कर्णालीमा मलामीका अगाडि कपडाको बाट (सेतो कपडा) बोक्ने चलन रहेको छ । बाटको सेतो कपडा २० देखि ५० मिटर लामो हुन्छ । सुदूरपश्चिम र कर्णालीतिर यो चलन रहेको ज्योतिष पण्डित पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “बुर्कीमा फालेको अन्न त चराचुरुङ्गीले खान सक्ने भए तर बाटको कपडाबारे धर्मग्रन्थमा कतै उल्लेख छैन । यस्तो कपडामा फजुल खर्च गरेर मसानघाटमा तन्काएर राख्दा बालबालिका त्रसित हुने गरेका छन् ।”