• ८ माघ २०८२, बिहिबार

तेस्रो बागलुङ मेयर कपको सेमिफाइनल समीकरण पूरा

blog

बेनी नगरपालिका म्याग्दी र बागलुङ नगरपालिका (सेतो)का खेलाडीहरु बलको लागि संघर्ष गर्दै । तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), मङ्सिर १७ गते ।
बागलुङमा जारी तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मङ्गलबार कटारी नगरपालिका उदयपुर र बेनी नगरपालिका म्याग्दी विययी भएपछि सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगितामा बागलुङ नगरपालिका (निलो) र पैयुँ गाउँपालिका पर्वत सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

मङ्गलबारको पहिलो खेलमा विभागिय टिम गण्डकी प्रदेश प्रहरीलाई पराजित गर्दै उदयपुरको कटारी नगरपालिका अन्तिम चारमा प्रवेश गरेको हो । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । कटारीले टाइब्रेकरमा ४–२ को जित निकाल्यो ।

टाइब्रेकरमा कटारीका गोलकिपर सागर मगर नायक बन्नुभयो । सागरले प्रहरीका सन्दिप तामाङ र अंकित गुरुङको प्रहार बचाउनुभएको थियो । टाइब्रेकरमा कटारीका लागि डिकेस लामा, गणेश भुजुल, पवन पाख्रिन र हेमन्त भुजेलले गोल गर्नुभयो । प्रहरीका लागि सुमित श्रेष्ठ र सरोज टिटुङले गोल गर्नुभयो । कटारीका गोलकिपर सागर खेलको प्लेयर अफ द म्याच बन्दै नगद २ हजारसहित ट्रफी प्राप्त गर्नुभयो ।

कटारी नगरपालिकाले बुधबार आयोजक बागलुङ नगरपालिका (निलो)सँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।

यस्तै मङ्गलबार नै भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक बागलुङ नगरपालिका (सेतो)लाई १–२ गोलअन्तरले पराजित गर्दै बेनी नगरपालिका म्याग्दी अन्तिम चारमा प्रवेश गरेको छ । खेलको पाँचौं मिनेटमा बेनीका बिनम थजालीले गोल गर्दै बेनीलाई अग्रता दिलाउनुभएको थियो । बिनमले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।

बेनीका बिनमले खेलको ७१ औं मिनेटमा व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्नुभयो । बिनमले डिबक्समा डिफेन्डर र किपरलाई बिट गर्दै गोल गर्नुभएको थियो । बागलुङका लागि खेलको ७६ औं मिनेटमा बिशाल घलानले गोल गर्नुभयो । निर्धारित समयमा बागलुङले गोलका लागि सुन्दर मौका पाएपनि गोल गर्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

बेनीका बिनम खेलको प्लेयर अफ द म्याच बन्दै नगद २ हजारसहित ट्रफी प्राप्त गर्नुभयो । बेनीले बुधबार फाइनल प्रवेशका लागि पर्वतको पैयुँ गाउँपालिकासँग प्रतिस्पर्धा गर्ने छ ।

बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले तीन लाख ३३ हजार तीन सय ३३ रुपियाँ र उपविजेताले दुई लाख २२ हजार दुई सय २२ रुपियाँ प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन् ।