• १७ मङ्सिर २०८२, बुधबार

पकेट क्षेत्रमै मासियो किवी

blog

किवी मासेर अन्य बाली लगाउँदै स्थानीय । 

कविराज घिमिरे 

हिले, मङ्सिर १७ गते । धनकुटा नगरपालिका–२, चापेका कृषक अमृत रानामगरले आफ्नो बारीमा लगाएको किवी अहिले सबै मास्नुभएको छ । विसं २०७० देखि किवी खेती सुरु गर्नुभएका मगरले करिब पाँच रोपनी क्षेत्रफलमा किवी लगाउनुभएको थियो । विभिन्न रोगकिराले सताएपछि उहाँको बारीमा अहिले केही बोट मात्रै किवी छ । 

किवीले सुरुमा त राम्रै आशा देखाए पनि पछिल्लो समय उत्पादन घट्दै गएपछि तथा देखिएको रोग किराको उचित उपचार नपाउँदा खेती छाड्न बाध्य भएको उहाँको भनाइ छ । सुरुमा त आम्दानी पनि ठिकै थियो तर अहिले विभिन्न रोगकिराको समस्या भने जस्तो उत्पादन नहुने तथा बिक्री नहुने भएपछि मासियो राना भन्नुहुन्छ । धनकुटाको चाँपे जिल्लामा किवी खेती सुरुवात गर्ने गाउँमध्येको एक हो । जिल्लामा अन्यत्र किवी खेती सरु नहुँदै चाँपेमा लटरम्म किवी फल्थ्यो । अहिले गाउँबाट लगभग किवी मासिएको छ ।  विभिन्न रोगकिराको समस्या, उचित मूल्य अभाव प्राविधिक ज्ञान नहुँदा यहाँको किवी मासिएको हो । चाँपेगाउँमा करिब २४ परिवारको बसोबास छ । सुरुमा सबै गाउँलेले लगाएको किवी अहिले भने प्रत्येक घर वाट मासिएको स्थानीय दलबहादुर राना बताउनुहुन्छ ।  गाउँ नै किवी खेतीमा लागेपछि तत्कालीन कृषि विकास कार्यालयले सो क्षेत्रलाई एक गाउँ एक उत्पादन अन्तर्गत जिल्लाका किवी पकेट क्षेत्र घोषणा गरी किवीका बिरुवा कुल बोटलगायतको प्रविधिसमेत वितरण गरेको थियो । किवी पकेट क्षेत्र घोषणा गरेको गाउँबाटै अहिले किवी हराएको छ । 

कृषि ज्ञान केन्द्र धनकुटाले भने अन्य बालीबाट राम्रो आम्दानी भएपछि किवी छाडेर अरू बालीतर्फ लागेको जनाएको छ । बिचको केही समय बजार समस्या भए पनि अहिले बजारको समेत समस्या नरहेको कार्यालयले जनाएको छ । चाँपेमा किवी मासिए पनि जिल्लाका अन्य स्थानमा भने किवी खेती बढ्दो रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले जानकारी दिनुभयो । 

किवीले रोपेको तीन वर्षदेखि उत्पादन दिन थाल्छ । सुरु सुरुमा प्रतिबोट ३०/४० किलोग्राम मात्र उत्पादन दिए पनि एउटा वयस्क बोटले भने एक सय किलोग्रामसम्म उत्पादन दिने स्थानीय बताउँछन् ।  सुरुमा कृषकले राम्रै मूल्य पाए पनि अहिले भने मूल्य घट्दो छ । मारेकटहरेमा किवी प्रशोधन उद्योग सञ्चालनमा आएकाले बजारको समस्या नहुने जानकारहरू बताउँछन् । अहिले जिल्लाका विभिन्न स्थानमा गरी करिब ५० हेक्टर क्षेत्रफलमा किवी खेती हुँदै आएको छ ।