• १७ मङ्सिर २०८२, बुधबार

नारखोलामा जुट्यो लगानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १७ गते । ६१ मेगावाटको नारखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । सिँगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको यो आयोजनाको वित्त व्यवस्थापनका सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।

सम्झौतामा नारखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैङ्कका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले हस्ताक्षर गर्नुभयो । 

आयोजनामा कुमारी बैङ्कको अगुवाइमा नेपाल एसबिआई बैङ्क, कृषि विकास बैङ्क, एनआइसी एसिया बैङ्क र मुक्तिनाथ विकास बैङ्कले ऋण लगानी गर्ने भएका छन् ।  

आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपियाँ रहेकोमा बैङ्कको कर्जा नौ अर्ब ६३ करोड रुपियाँ र स्वपुँजी तीन अर्ब २१ करोड रुपियाँ लगानी हुने कम्पनीले जनाएको छ । 

मनाङस्थित नार्पाभूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोतीखोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाट जडित क्षमताको नारखोला जलविद्युत् आयोजना निर्माण गर्न लागिएको छ ।

वार्षिक ३६६.४८ गिगावाट/घण्टा विद्युत् उत्पादन हुने सो आयोजनाले वार्षिक दुई अर्ब १० करोड रुपियाँको विद्युत् बिक्री गर्ने जनाइएको छ । आयोजनाले पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको र तीन महिनाभित्र आयोजनाका मुख्य संरचना निर्माण सुरु गरेर आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।