• १६ मङ्सिर २०८२, मङ्गलबार

बेँसीसहर ११ लाई नगर कप उपाधि

blog

बेंसीसहर नगरकप विजेता टिम । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, मङ्सिर १६ गते । छैठौँ बेँसीसहर नगर कपको उपाधि बेँसीसहर नगरपालिका-११, चितिले जितेको छ । बेँसीसहर नगरपालिका-१०, बाँझाखेत र ११ चितिबिच भएको फाइनल खेलमा ट्राइब्रेकरमा वडा ११ ले जित हात पारेको हो ।

निर्धारित खेल समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि ट्राइब्रेकरमा तीनका विरुद्ध ४ गोल गर्दै वडा ११ चितिले छैठौँ नगर कप वडास्तरीय फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको हो । 

फाइनल खेलमा वडा ११ का अनुप कुताल क्षेत्री म्यान अफ दि म्याच घोषित हुनुभयो । सेमिफाइनल खेलमा वडा १ लाई हराउँदै वडा ११ फाइनलमा प्रवेश गरेको थियो । वडा २ लाई हराउँदै वडा १० फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेता वडा ११ चितिले नगद १ लाख नगद पुरस्कारसहित मेयर कप, स्वर्णपदक र प्रमाणपत्र हात पारेको छ । उपविजेता वडा १० नगद ५० हजार, रजत पदक र प्रमाणपत्र पाएको छ । 

प्रतियोगिताका विजयी टिम तथा खेलाडीले बेँसीसहर नगर प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ, प्रहरी नायब उपरीक्षक रेशम बोहरा, नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभयो । त्यस्तै प्रतियोगितामा वडा ११ का पासाङ तामाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो भने खेल अवधिभर ४ गोल गर्दै वडा १ का सुदिप गिरीले सर्वाधिक गोलकर्ताको उपाधि पाउनुभयो । 

दुवैलाई जनही ५ हजार नगद पुरस्कार र स्वर्ण पदक दिइएको छ । त्यस्तै वडा १० का सुजन तामाङले उत्कृष्ट गोलकिपरको उपाधिसहित  नगद २ हजार र प्रमाणपत्र दिइएको छ ।

बेँसीसहर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले आयोजना गरेको नगर कपमा ११ वटै वडाको सहभागिता थियो । यसैबिच प्रतियोगिताको फाइनल खेलअघि नगरपालिका र प्रहरीबिच मैत्रीपूर्ण खेल खेलाइएको थियो । उक्त खेलमा दुईका विरुद्ध तीन गोल गर्दै जिल्ला प्रहरी कार्यालयको टिमले जित हात पारेको छ ।