• १६ मङ्सिर २०८२, मङ्गलबार

प्रहरीद्वारा हिमाली सीमाको अनुगमन

blog

हिमाली सीमावर्तीमा अनुगमनको क्रममा ।

साहारा लिम्बू 

फुङलिङ, मङ्सिर १६ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले हिमाली क्षेत्र केन्द्रित सीमा नाका अनुगमन गरेको छ । प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमको कमान्डमा ९ जनाको प्रहरी टोलीले हिमाली क्षेत्र केन्द्रित सीमा नाका अनुगमन गरेको हो । 

टोलीले फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका घुन्सा, खाम्बाचेन, लोनाक हुँदै उत्तरी कञ्चनजङ्घा बेस क्याम्पसम्मको अनुगमन गरेको डीएसपी वेदप्रसाद गौतमको भनाइ छ । उहाँका अनुसार अत्यन्तै दुर्गम, हिमाली तथा सीमावर्ती क्षेत्रमा हुने चोरीको निगरानी, सुरक्षा चुनौतीको मूल्याङ्कन, विदेशी पर्यटकको गतिविधि निगरानी, अवैध हिमाली जडीबुटी तथा वन्यजन्तुको ओसारपसार नियन्त्रण र प्रहरी सेवा प्रवाह सुदृढीकरण तथा स्थानीयलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यका साथ उक्त क्षेत्रमा अनुगमन गरिएको हो ।  

अनुगमनका क्रममा टोलीले स्थानीय बासिन्दा, होटल व्यवसायी, पर्यटकहरूसँग भेटघाट गर्दै सुरक्षासम्बन्धी सुझाव सङ्कलन गरेको छ । साथै, सार्वजनिक सेवा प्रवाह, सूचना आदानप्रदान र पहाडी तथा हिमाली क्षेत्रका नागरिकले भोग्ने समस्या सम्बन्धमा पनि छलफल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसै क्रममा टोलीले फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुसहित स्थानीय जनप्रतिनिधिहरूसँग बैठक तथा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । अन्तरक्रियामा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित सम्भावित सुरक्षा चुनौती, अन्तर्राष्ट्रिय सीमामा हुन सक्ने अवैध गतिविधि तथा तिनको रोकथामका उपायबारे विस्तृत छलफल भएको थियो ।

अनुगमनका क्रममा सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा पनि प्रहरीले सहयोग गरेको थियो। कठिन भौगोलिक अवस्था, कठोर मौसम तथा लामो दूरीको यात्रा बावजुद टोलीले निर्धारित कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको बताइएको छ ।