• १६ मङ्सिर २०८२, मङ्गलबार

'जहाँ नाउर, त्यहाँ हिउँ चितुवा'

blog

लोमान्थाङ गाउँपालिका–१,छोसेरमा चरन क्षेत्रमा भेटिएका नाउर । तस्बिर सौजन्य : उमेश पौडेल, प्रमुख एक्याप लोमान्थाङ

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), मङ्सिर १६ गते । ‘हिमालको रानी’उपनामले चिनिने हिउँ चितुवाकाे प्रमुख आहारा नाउर पाइने लोमान्थाङ गाउँपालिका–१, छोसेरको उच्च हिमाली क्षेत्रम हिउँ चितुवा देखिरहन्छ । आहाराको खोजीमा भौंतारिरहने हिउँ चितुवा छोसेर क्षेत्रमा पर्ने भर्चा लेक,नेन्युलका साथै चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरलाको हिमाली क्षेत्रमा समेत भेटिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप),इलाका संरक्षण कार्यालय लोमान्थाङ अन्तरगत पर्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, वडा ५ को साङ्ता र उपल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा देखिएको हिउँ चितुवाको ट्राभल हिस्ट्रीमा नाउरको बथान देखिएका क्षेत्र नजिक लोकेशन ट्याप गरिएको छ । 

लोपोन्मुख हिउँ चितुवासहित वन्यजन्तुको संरक्षण तथा आहारालाई सहज हुने गरी काम गरिरहेको एक्यापले विभिन्न स्थानमा राखेको क्यामेरामा समेत नाउर र हिउँ चितुवा देखिएको ए्क्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो । 

एक्याप प्रमुख पौडेल भन्नुहुन्छ,‘‘हिउँ चितुवाको आहारा संरक्षणका कार्यहरू प्रभावकारी देखिएको छ,वासस्थान अर्थात् ‘कोर एरिया’ क्षेत्रमा नाउर भेटिएका छन्।’’ आहारा र शिकारी प्रजातिका वन्यजन्तुको संरक्षणका लागि बर्षेनी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको एक्याप इलाका कार्यालय लोमान्थाङले हिउँ चितुवाको बासस्थान तथा आहारा खोज्दै हिंड्ने स्थानहरूमा अनलाइनबाट समेत अनुगमन गरिरहेको छ । 

पौडेलका अनुसार विगतमा उपल्लो मुस्ताङका गरिएको एक अध्ययनमा हिउँ चितुवाले नाउरपछि सबैभन्दा धेरै फ्याउ मुसाको सिकार गरेको भेटिएको थियो ।नाउरको सिकारका लागि हिउँ चितुवालाई धेरै मिहिनेत गर्नुपर्छ । हिउँ चितुवाले आफ्नो पायकमा पर्ने बन्यजन्तु सबैलाई क्षती पु¥याउने भएपनि रोजाइमा नाउरपछि फ्याउ मुसा पर्ने गरेको छ । हिउँ चितुवाले नाउर,फ्याउ मुसा,हिमाली खरायो,पंक्षीमा डाँफेको सिकार गरेको भेटिन्छ । हिउँ चितुवा र आहारा प्रजातिको संरक्षणका लागि बासस्थान व्यवस्थापन हुदाँ हिउँ चितुवा–मानव द्वन्द्व न्यूनीकरणमा समेत सघाइरहेको छ । 

हिउँ चितुवाको संख्या घट्न नदिन र आहारा प्रजातिको वासस्थानलाई समेत चरन क्षेत्र सुधार गरी सहज बनाएर पर्याप्रणालीमा असर पर्न नदिन विभिन्न समयमा सर्वेक्षण हुने गरेको छ ।एक्याप इलाका कार्यालय जोमसोमका प्रमुख राजेश गुप्ताले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्च हिमाली भेगमा नाउरको बथान आसपासका हिउँ चितुवाको पाइला, दिसा भेटिएको बताउनुभयो । प्रमुख गुप्ता भन्नुहुन्छ,‘‘जहाँ नाउर, छन्, आसपासको हिमाली क्षेत्रमा हिउँ चितुवा भेटिन्छ ।’’ एक्यापले मुस्ताङमा हिउँ चितुवाको सङ्ख्या र अवस्था पत्ता लगाउन सर्वेक्षणको क्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा क्यामेरा जडानको क्रममा नाउरको बथान देखिएको एक्याप इलाका कार्यालय जोमसोमका संरक्षण सहायक दिपक ओलीले बताउनुभयो । 

एक्यापले दुई महिनासम्मका लागि जडान गरेको १५ वटा क्यामेरा आसपासका क्षेत्रमा नाउर सहित अन्य वन्यजन्तु प्रशस्तै देखिएको ओलीको भनाइ छ । वारागुङ मुक्तिक्षेत्रबाट सुरु भएको यो अध्ययन घरपझोङ, थासाङ गाउँपालिका सँगै उपल्लो मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा समेत गरिन्छ । गर्मी र जाडो मौसममा गरिएको सर्वेक्षणले हिउँ चितुवाका बारेमा प्राप्त तथ्यहरूलाई आधार बनाएर थप गतिविधि सञ्चालन गर्ने एक्याप जोमसोमले जनाएको छ । 

पोथीबाट अलग भएर भालेको आक्रमणबाट जोगिन वयस्क हिउँ चितुवा भौंतारिदै बस्ती क्षेत्रमा आउने गर्दछ । भाले चितुवाको बच्चा पनि आक्रामक नै हुन्छ  । मुस्ताङमा हालसम्म हिउँ चितुवाको एकीन तथ्याङ्क सङ्कलन भएको छैन । 

लजालु स्वभाव हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाइमा मुख्य बासस्थान मानिन्छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवालाई स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । पछिल्लो समय जलवायु परिवर्तन र डढेलोका कारण हिउँ चितुवाको सुरक्षाका लागि वातावरण क्षेत्रका जानकारहरू चिन्तित छन् ।