शङ्कर केसी
सल्यान, मङ्सिर १६ गते । सल्यानमा हानिकारक मिचाहा प्रजातिका वनस्पतिबाट बायोचार उत्पादन गर्ने, जैविक मलको सम्भावना एवं जिल्लामा जारी मिचाहा वनस्पति व्यवस्थापन अपडेटसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको कपुरकोट गाउँपालिकामा सोमबार वनस्पति अनुसन्धान केन्द्र सल्यान तथा भूमि सेवा नेटवर्क पोखरा कास्कीका विज्ञहरुले यससम्बन्धी जानकारी एवं कार्यपत्र प्रस्तुत गरेका हुन् । भूमि सेवा नेटवर्कका अनुसार बिना अक्सिजन वा कम अक्सिजनको उपलब्धतामा अत्यधिक जलाएर बनेको एक किसिमको अँगारलाई बायोचार भनिन्छ ।
कपुरकोट गाउँपालिकाको आयोजनामा र वनस्पति अनुसन्धान केन्द्र तथा भूमि सेवा नेटवर्कको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कपुरकोट क्षेत्रका ५४ वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, जनप्रतिनिधि, वन क्षेत्रमा कार्यरत सरोकारवालाबीच विस्तृत अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले सल्यानमा बढ्दै गएको मिचाहा वनस्पतिको प्रभाव र यसको व्यवस्थापन सम्बन्धी अद्यावधिक जानकारी प्रस्तुत गर्नुभयो । साथै भूमि सेवा नेटवर्क पोखराका व्यवस्थापक मदन पौडेलले मिचाहा वनस्पतिबाट बायोचार तथा जैविक मल उत्पादन गर्ने विधि र यसको कृषिमा उपयोगिताबारे विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उहाँका अनुसार कृषकहरूले बायोचार बनाई खेतीबालीमा प्रयोग गर्दा उत्पादकत्व बढ्ने र यसले माटोको भौतिक, रासायनिक तथा जैविक गुणस्तरमा समेत सुधार ल्याउँछ । बायोचार बनाउँदा वनस्पतिमा रहेको वनको थोरै मात्रा कार्बनडाइअक्साइडको रूपमा उडेर जाने र अधिकांश कार्बन ९० प्रतिशत भन्दा बढी बायोचारमा सुरक्षित हुने भएकाले पृथ्वीबाट वायुमण्डलमा जाने कार्बनडाइअक्साइडको मात्रा कम हुने पौडेलको भनाइ छ ।
बायोचार उत्पादन विधि, जैविक मल, बायो–ब्रिगेडको सम्भावना तथा सल्यानमा जारी मिचाहा वनस्पति व्यवस्थापन अपडेट विषयक कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय प्रतिनिधि घनश्याम शर्मा, महासङ्घका जिल्ला तथा स्थानीय तहका प्रतिनिधि, सब डिभिजन वन कार्यालयका प्रतिनिधिलगायतको सहभागिता थियो ।
सामुदायिक वन समूहहरूलाई मिचाहा वनस्पति नियन्त्रण, जैविक मल तथा बायोचार प्रयोग, तथा वातावरणमैत्री व्यवस्थापनका प्रविधिमार्फत वन तथा कृषि क्षेत्र सुदृढ गर्न सकिने सम्भावनाबारे स्पष्ट मार्गदर्शन प्रदान गर्नका लागि यसप्रकारको कार्यक्रम आयोजना गरिएको हो ।