• १६ मङ्सिर २०८२, मङ्गलबार

विषयगत समिति सक्रिय

blog

कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको बैठक ।

ललित बसेल 

सुर्खेत, मङ्सिर १६ गते । यतिबेला कर्णाली प्रदेश सभाको अधिवेशन बन्द छ । गत साउन महिनामा सकिएको प्रदेश सभाको बर्खे अधिवेशनपछि आगामी माघ महिनामा हिउँदे अधिवेशनको तयारीमा छ । यो अवधिमा प्रदेश सभामा ‘मिनी संसद्’ का रूपमा परिचित विषयगत समिति भने सक्रिय छन् । गत साउनदेखि मङ्सिरको दोस्रो सातासम्म २८ वटा बैठक बसेका छन् । प्रदेश सभामा सामाजिक विकास समिति, अर्थ तथा प्राकृतिक समिति, प्रदेश मामिला तथा विधायन समिति र सार्वजनिक लेखा समिति छन् । सबैभन्दा धेरै सामाजिक विकास समितिको १६ पटक बैठक बसेको छ । अर्थ तथा प्राकृतिक समितिको सात वटा, प्रदेश मामिला समितिको तीन वटा र सबैभन्दा कम सार्वजनिक लेखा समितिको बैठक दुई वटा बसेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

सभामा विभिन्न विधेयकका मसौदा, सार्वजनिक विषय, प्रदेश सरकारले गरेका कामलगायत विभिन्न विषयका बारेमा छलफल हुने गर्छ । साथै प्रदेश सरकारलाई नै बोलाएर सोबारे जानकारी लिने, आवश्यक निर्देशनसमेत ती समितिले दिने गरेका छन् । कर्णाली प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलले गत साउनमा बर्खे अधिवेशन सकिएपछि अहिलेसम्म विभिन्न विषयगत समितिका गरी २८ वटा बैठक बसेको बताउनुभयो । उहाँले जनताका समस्या, प्रदेश सरकारले गरेका काम कारबाही, बन्न लागेका विधेयकका मसौदालगायत विभिन्न विषयमा ती समितिमा छलफल भई सरकारका प्रतिनिधि बोलाई आवश्यक निर्देशनसमेत दिने गरेको जानकारी दिनुभयो । 

यो अवधिमा जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदेश सभामा पनि व्यापक भौतिक संरचनामा क्षति पुगेकाले समितिका कार्यालय पनि क्षतिग्रस्त भएका छन् । सामाजिक विकास समितिको कार्यालय मात्रै आंशिक क्षति भएको र पुनः  मर्मत गरी सञ्चालनमा ल्याइएको तर अन्य समितिका कार्यालय भने पूर्ववत् अवस्थामा अझै आउन नसकेको उहाँले बताउनुभयो । यही कारणले गर्दा पनि अन्य विषयगत समितिको बैठक कम बसेको उहाँको भनाइ छ । सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्री चालिसेले अधिवेशन नचले पनि विषयगत समिति सक्रिय भएको बताउनुभयो । उहाँले सरकारले गरेका काम कारबाहीमाथि उठेका प्रश्नलगायत अन्य विषयमा प्रदेश सरकारका मन्त्री, सचिवलाई बोलाएर सोबारे जानकारी लिई आवश्यक निर्देशनसमेत दिने काम भएको उल्लेख गर्नुभयो । सामाजिक विकास समितिले राउटे नीति, प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने, अर्गानिक प्रदेश घोषणा कार्यान्वयन, १० औँ राष्ट्रिय खेलकुद आयोजनालगायत विविध विषयमा प्रदेश सरकारका मन्त्रीलाई नै बोलाएर जानकारी लिएको थियो । 

यता आगामी माघको अन्ति साता कर्णाली प्रदेश सरकारको हिउँदे अधिवेशन बस्नुपर्ने कानुनी प्रावधान छ तर जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदेश सभा बैठक स्थललगायत अन्य कार्यालय आगजनीबाट ध्वस्त बनाइएपछि बैठक स्थल पुनर्निर्माणको काम जारी छ । नियमित बजेटबाटै प्रदेश सभाको पुनर्निर्माणको काम थालिएको छ । जेनजी समूहको आन्दोलनका क्रममा प्रदेश सभामा करिब चार करोड रुपियाँ बराबरको क्षति भएको छ ।