चितवन समाचारदाता
चितवन, मङ्सिर १६ गते । नारायणी नदीमा निर्माण हुने नयाँ पुलको निर्माण कार्य सुरु भएको छ । एक महिनाअगाडि सडक विभाग पुल महाशाखाले नक्सा पास गरेपछि पुल निर्माणको काम सुरु गरेको हो । पुल निर्माणका लागि नक्सा पास भएपछि नक्साबमोजिम निर्माणस्थलको माटो परीक्षणको काम अहिले भइराखेको हो । डिभिजन सडक कार्यालय भरतपुरको इन्जिनियर अर्जुन घिमिरेले पुल निर्माणका लागि नक्सा पास भएपछि टेस्ट फाइल गर्नुपर्ने प्रव्रिmयाको काम भइराखेको जानकारी दिनुभयो ।
उहाले भन्नुभयो, “नक्सामा उल्लेख भए अनुसारको भार क्षमता जमिनले धान्न सक्छ कि सक्दैन भनेर पुनः परीक्षण गर्नुपर्ने हुन्छ । त्यसैको काम अहिले भइराखेको छ,” उहाँले भन्नुभयो, “पुलको पिल्लर रहने भागको माटो परीक्षण गरेपछि थप निर्माणको काम अगाडि बढाइने छ ।”
पुलको नक्सा डिजाइन गर्ने प्रोफेसरको अगुवाइमा माटो परीक्षण गरेर रिपोर्ट आउन २८ दिन लाग्ने जानकारी दिइएको छ । कात्तिक १४ गते पुल शाखाले नक्सा पास गरेपछि निर्माणको प्रव्रिmया अगाडि बढेको हो । नारायणी नदीमा भने मङ्सिर १ गतेबाट काम सुरु भएको थियो । नारायणगढतर्फको भागबाट पुल रहने भागसम्म जाने बाटो निर्माण कार्य भइराखेको छ । चार वटा पिल्लर रहने नयाँ पुलका लागि अहिले धमाधम काम भइराखेको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो । आकर्षक सिग्नेचर पुल निर्माण हुने भएपछि नारायणगढ गैँडाकोट बजार क्षेत्रमा चहलपहल बढेको छ ।
पुल निर्माणका लागि विसं २०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । चीनको विश्वविद्यालयका प्रोफेसरको नेतृत्वको टोलीले अहिले बन्न लागेको पुलको डिजाइन गरेको हो । पुल महाशाखा प्रमुख ललिजन खनालले पुल निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिनुभयो । डिजाइन स्वीकृत भएपछि फिल्डमा अहिले धमाधम काम भएको छ, उहाँले भन्नुभयो ।
पुल महाशाखाका इन्जिनियर अमृत वर्माले लट्ठासहित पुलको चौडाइ १४ मिटर रहने बताउनुभयो । फुटपाथसहित सवारीसाधन सञ्चालन हुने चौडाइ भने ११ मिटर कायम हुने छ । डिजाइन एन्ड बिल्डका आधारमा बन्ने यो पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले मूल्य अभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपियाँमा सकारेको हो ।