रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर १६ गते । बागलुङ नगर खेलकुद विकास समितिको आयोजनामा बाङेचौर खेल मैदानमा जारी तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको तेस्रो दिन मङ्गलबार दुई खेल हुँदै छन् ।
प्रतियोगितामा आजको पहिलो खेल विभागिय टोली गण्डकी प्रदेश प्रहरी पोखराले कटारी नगरपालिका उदयपुरसँग खेल्ने छ भने दोस्रो खेलम आयोजक बागलुङ नगरपालिका ‘सेतो’ले छिमेकी जिल्ला बेनी नगरपालिका म्याग्दीको सामना गर्ने छ ।
गण्डकी प्रदेश प्रहरीले सोमबारको खेलमा बलियो टोली गलकोट नगरपालिकालाई ट्राइबेकरमा २–४ गोलले निराश पार्दै दोस्रो चरणमा प्रवेश गरेको टोली हो । प्रहरीलाई प्रतियोगिताको उपाधी दाबेदारको रुपमा समेत हेरिएको छ । बेनी नगरपालिका म्याग्दी भने जैमिनी नगरपालिका खेलमा अनुपस्थित भएपछि सोझै दोस्रो चरणमा पुगेको टोली हो । सेमीफाइनल यात्राका लागि आजका दुवै खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
सोमबार भएको खेलमा विभागिय टोली कालिजंग गण घोडााबाँधेलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पर्वतको पैयुँ गाउँपालिकाले सेमिफाइनलको यात्रा तय गरिसकेको छ । पैयुँले बेनी र बागलुङ नगरपालिका ‘सेतो’ बिच हुने खेलको विजय टोलीसँग फाइनल यात्राका लागि सेमीफाइनल खेल खेल्ने छ । यसअघि आयोजक बागलुङ नगरपालिका ‘निलो’ले जलजला गाउँपालिकालाई पराजित गर्दै सेमीफाइनलमा पुगेको छ ।
प्रतियोगिताको विजेता टोलीलाई तीन लाख ३३ हजार ३ सय ३३ रुपियाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिने छ । उपविजेतालाई दुई लाख दुइ हजार दुई सय २२ रुपियाँ पुरस्कार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई १०/१० हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक गौतमले जानकारी दिनुभयो ।
प्रतियोगिता मङ्सिर १८ गतेसम्म चल्ने छ । बागलुङ नगरपालिकाले २०७६ सालमा दोस्रो मेयर कप गरेपछि स्थगित भएको ‘मेयर कप’ फुटबल यस वर्षदेखि पुनः सुरु गरेको हो ।