• १६ मङ्सिर २०८२, मङ्गलबार

जङ्गली हात्ती–मानव द्वन्द्व बढ्दो

blog

फाइल तस्बिर

अविनाश चौधरी 

धनगढी, मङ्सिर १६ गते । जङ्गली हात्तीले गत मङ्गलबार राति कञ्चनपुरको वनकट्टीका नन्दलाल विष्टको घरमा आक्रमण गर्‍यो । भीमदत्त नगरपालिका–१४ स्थित मध्यवर्ती क्षेत्रमा रहेको उहाँको कच्ची घर भत्काएर घरभित्र पसेको हात्तीले उत्पात त्यत्तिमै सीमित राखेन, विष्टकी श्रीमती ४५ वर्षीय धनाको ज्यान पनि लियो । 

पिठिउँ, कुम र खुट्टामा हात्तीले कुल्चेर गम्भीर धनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । जङ्गली हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पुगेको थियो । गत असोज २ गते मात्रै पनि कञ्चनपुरमा जङ्गली हात्तीले बेलौरी नगरपालिका–३ का ६० वर्षीय श्रीप्रसाद आचार्यको ज्यान लिएको थियो । बुटाबारीबाट बिहान साइकल चढेर ढक्का शिविरतर्फ गइरहेका आचार्यलाई पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो ।  यी दुई प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय कञ्चनपुरमा वन्यजन्तुको आक्रमणबाट मान्छेको ज्यान जाने क्रम बढेको छ । मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा मानवीय क्षति पनि बढ्न थालेको हो । वन्यजन्तुको आक्रमणबाट सो जिल्लामा बर्सेनि मान्छेले ज्यान गुमाउने गरेका छन् । सबैभन्दा बढी जङ्गली हात्तीले मान्छेको ज्यान लिएको छ । 

डिभिजन वन कार्यालय र शुक्लाफाँटा निकुञ्ज कार्यालयका तथ्याङ्क अनुसार पछिल्लो सात वर्षको अवधिमा कञ्चनपुरमा १२ जनाले हात्ती र दुई जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् । आठ जना सख्त र १८ जना घाइते भएका छन् । दुवै कार्यालयले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन, आव २०७८/७९ मा तीन र आव २०७९/८० मा दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै आव २०८१/८२ मा दुई र २०८२/८३ को हालसम्म दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । 

हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१ का बलदेव बोहोरा, शुक्लाफाँटा नगरपालिका–१२ का धोजबहादुर कार्की र मथुरादेवी कार्कीले ज्यान गुमाएका डिभिजन वन कार्यालयले जनाएको छ । यस्तै लालझाडी गाउँपालिका–४ का रामदल राना, बेलौरी नगरपालिका–६ का उमेश चौधरी र बेलौरी नगरपालिका–३ का आचार्यको हात्तीको आक्रमणबाट ज्यान गएको थियो । निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट बेलौरी नगरपालिका–८, पचुईकी गङ्गादेवी चन्दको केही वर्षअगाडि र गत वर्ष दोधारा चाँदनी नगरपालिका–२ का २३ वर्षीय हीरा शाहको ज्यान गएको थियो । 

हात्ती, बँदेललगायतका वन्यजन्तुको आक्रमणबाट वेदकोट नगरपालिका–३ का पद्मा कुँवर, पुनर्वास नगरपालिका–१० का लक्ष्मीदेवी जोशी, परी विष्टलगायत गम्भीर घाइते भएका डिभिजजन वन कार्यालयका अधिकृत सोफिया भट्टराईले जानकारी दिनुभयो । निकुञ्ज, मध्यवर्ती क्षेत्र र मोहना–लालझाडी कोरिडोर रहेको कञ्चनपुरमा अरू जनावरभन्दा पनि हात्तीको आक्रमण बढिरहेको छ । करिब ५० को सङ्ख्यामा रहेकाध्ये मकुना (दाह्रा नभएको भाले) र लेदे (पुच्छर छोटो भएको भाले) गरी दुई हात्तीले मान्छेको ज्यान लिइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । विगतको तुलनामा अचेल मानव–वन्यजन्तु द्वन्द्व बढेको निकुञ्ज कार्यालयले पनि निष्कर्ष निकालेको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले भन्नुभयो, “अहिले हात्ती र मान्छेबिच द्वन्द्व बढेको हामीलाई पनि लागेको छ किनभने हात्तीले प्रत्येक वर्ष मान्छेको ज्यान लिइरहेको छ ।”

यसकारण बढ्यो हात्तीको आक्रमण

मकुना र लेदे दुवै हात्तीको झुन्डबाट निष्कासित हात्ती हुन् । निकुञ्ज कार्यालयका अनुसार हात्ती मातृसत्तामा चल्ने ठुलो शरीर र सय वर्ष बाँच्ने जनावर हो । हात्तीका हजुरआमाले जुन बाटो हिँड्न र जे गर्न सिकाएका हुन्छन्, झुन्डका सदस्यले २० वर्षपछि पनि त्यही पुरानो बाटोमा हिँड्नुका साथै सामूहिक रूपमा आहारविहार गर्ने गरेका छन् । पुर्खाको आदेश नमान्ने हात्तीलाई झुन्डले निकाल्ने गरेको जनाइएको छ । त्यसरी निकालिएका हात्तीले आफ्नो परम्परागत हिँड्ने बाटो र काम बिर्सेपछि मानवबस्तीमा पस्ने र जनधनको क्षति गर्ने गरेको निकुञ्जका सूचना अधिकारी वाग्लेको भनाइ छ ।