• १६ मङ्सिर २०८२, मङ्गलबार

एमाले महाधिवेशन : महोत्तरीमा विवादित बन्दै प्रतिनिधि छनोट प्रक्रिया

blog

एमाले महाधिवेशनका लागि प्रतिनिधि छान्न महोत्तरी–१ को मतदान केन्द्र– बर्दिबास–८ हाथीलेट स्थित सामुदायिक भवनमा मतदात हुँदै । तस्बिर :अजय शाह

अजय शाह
गौशाला (महोत्तरी), मङ्सिर १६ गते । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रिया महोत्तरीमा विवादित बन्दै गएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आफ्नो गृह क्षेत्र महोत्तरी क्षेत्र नम्बर ४ को प्रतिनिधि छनोटमा मनपरी ढङ्गले हस्तक्षेप गरेको आरोप लगिएको हो ।

इतर समूहका नेताहरूले मुख्यमन्त्रीको योजनाअनुसार निर्वाचन गराई १९ प्रतिनिधि नै केपी ओली निकट व्यक्तिहरूलाई विजयी घोषणा गरिएको भन्दै तीव्र आपत्ति जनाएका छन् ।

एमाले प्रदेश कमिटी सदस्य तथा अनेरास्ववियुका पूर्व केन्द्रीय सचिव सरोज यादवले प्रतिनिधि छनोटको प्रक्रिया अनौठो ढङ्गले सञ्चालन गरिएको दाबी गर्नुहुँदै, ‘‘दुई प्यानलबिच प्रतिस्पर्धा भए पनि नतिजा अत्यन्त असन्तुलित देखियो । हार्ने प्यानललाई ९४ र जित्ने प्यानललाई तीन हजारभन्दा बढी (३४१४) मत देखाइनु नै मतपत्रको डिजाइनमै त्रुटि वा हस्तक्षेप भएको सङ्केत हो,’’ भन्नुभयो ।

यादवको आरोप यति मात्रै छैन । योग्यता नपुगेकालाई उम्मेदवार बनाएको, विधानविपरीत काम भएको र यसरी गरिएको छनोट स्वीकार्य नभएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि व्यक्त गर्नुभएको छ । इतर समूहले मुख्यमन्त्रीले आफ्नै काका राजबिहारी यादवलाई मतदान अधिकृत नै तोक्नु निष्पक्षतामाथि ठुलो प्रश्न भएको टिप्पणी गर्नुभयो । ‘‘हाम्रा गुनासाहरू सुन्ने प्रयास गरेनन् । अन्ततः मतदानपत्रको दायाँतर्फ रहेका सबै १९ जनाको विजय घोषणा गरियो,’’ पूर्व केन्द्रीय सचिव यादवको भनाइ छ ।

आफूहरूले निर्वाचन निस्पक्ष नभएको भनेर मतदान अधिकृतलाई उजुरी गरे पनि सुनुवाइ नभएको गुनासो उहाँले गर्नुभयो ।

महोत्तरी–४ का १४ हजार ६३७ संगठित सदस्यको नामावली नै शङ्कास्पद भएको, जनता आवास कार्यक्रमका लागि सङ्कलित नागरिकताको फोटोकपी प्रयोग गरी व्यक्तिहरूलाई पार्टी सदस्य बनाएर मतदानमा सहभागी गराइएको जस्ता आरोप पनि सार्वजनिक भएका छन् ।

यसबिच, महोत्तरी–४ मा विवाद बढिरहे पनि क्षेत्र नम्बर १ र २ मा भने प्रतिनिधि छनोटका लागि मतदान कार्य जारी छ । क्षेत्र नम्बर १ मा खुला तर्फका ६ प्रतिनिधि पदका लागि १८ उम्मेदवार र महिला सदस्य तर्फ पाँच उम्मेदवार प्रतिस्पर्धामा छन् । उता, महोत्तरी–३ मा भने प्रतिनिधि चयन सर्वसम्मत रूपमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।