तम्घास समाचारदाता
तम्घास (गुल्मी), मङ्सिर १६ गते । देशकै नमुना तीनमुखे पुल निर्माणको काम सम्पन्न भए पनि हस्तान्तरण हुन सकेको छैन । विसं २०७१ मङ्सिर १५ गते शिलान्यास गरिएको देशकै नमुना तीनमुखे पुलको निर्माण कार्य तीन वर्षपहिले सम्पन्न भएको हो । अहिले उक्त पुल सञ्चालनमा रहेको भए पनि आधिकारिक रूपमा सम्बन्धित कार्यालयलाई हस्तान्तरण भने भएको छैन ।
गुल्मी, स्याङ्जा र पाल्पाको सङ्गमस्थल रिडी क्षेत्रको कालीगण्डकीमा तीन जिल्लालाई जोड्ने गरी देशकै झोलुङ्गे पुल निर्माणको जिम्मा नयाँबाटो, रुबिना, मना जेबीले पाएको थियो । २०७१ साल असार १० गते तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँ बाटो, रुबिना, मना जेबी र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकबिच सम्झौता भएको थियो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले तीन पटकसम्म म्याद थप गरी निर्माण सम्पन्न भएको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रेमनारायण बस्यालका अनुसार निर्माण व्यवसायीको आन्तरिक विवाद र कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका कारण हस्तान्तरण हुन नसकेको हो । उनीहरूको आन्तरिक विवाद समाधान नभएसम्म हस्तान्तरण प्रक्रिया रोकिएको उहाँको भनाइ छ । कार्यालयका तर्फबाट करिब ४० प्रतिशत रकम पनि भुक्तान हुन बाँकी रहेको कार्यालयले जनाएको छ । तीन वर्षपहिले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने योजना भएकोमा निर्वाचन आचारसंहिताका कारण उक्त कार्य रोकिएको थियो ।
नमुना तीनमुखे पुललाई दीर्घकालीन रूपमा सञ्चालन गर्न तीन वटै स्थानीय तहको समन्वय आवश्यक रहेको कार्यालयले जनाएको छ । तीन जिल्लाका तीन वटै स्थानीय तहसँग समन्वय गरी दीर्घकालीन व्यवस्थापन गर्ने गरी आफूहरू लागेको कार्यालयले जनाएको छ ।
पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१, रिडी स्याङ्जाको कालीगण्डकी–१, कारीकोट चण्डीभन्ज्याङ र पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीलाई जोडेको छ । कालीगण्डकीमा बनाइएको झोलुङ्गे पुलको मुख्य पिल्लर १७७.४ मिटर लम्बाइमा तीन जिल्लाको मध्य भागको दुरीमा छ । पुलको मध्य भागमा रहेको पिल्लरबाट हरेक जिल्लामा पुग्न बराबर दुरी रहेको छ ।
स्थानीय चूडामणि तिमिल्सिनाले उक्त पुल अवलोकनका लागि देशका विभिन्न स्थानबाट मानिस यहाँ आउने गरेका बताउनुभयो । विशेष गरी नयाँ वर्ष, असारे ठुलो एकादशी, हरिबोधिनी एकादशी र मकरसङ्क्रान्तिको समयमा पुल अवलोकन र भिडियो बनाउनेको घुइँचो लाग्ने गरेको उहाँको भनाइ छ ।