पुरुषोत्तम सुबेदी
नवलपरासी, मङ्सिर १६ गते । उखु उत्पादक किसानहरूले मङ्सिर १५ गतेदेखि सर्लाहीको हरिवनमा सुरु गर्ने भनेको अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरोधको आन्दोलन स्थगित गरेका छन् ।
उखु उत्पादक किसानहरूले उठाउँदै आएका उखुको समर्थन मूल्य निर्धारण र विगतको बक्यौता अनुदानको समस्यालाई लिएर नेपाल उखु उत्पादक महासंघ र नेपाल सरकारबिच भएका उच्चस्तरीय वार्ताहरूले सकारात्मक मोड लिएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रीको लिखित आग्रहपछि महासंघले मङ्सिर १५ गतेदेखि सर्लाहीको हरिवनमा सुरु गर्ने तयारी गरेको अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरोधको आन्दोलन तत्कालका लागि स्थगित गरेको हो ।
“उखु उत्पादक महासंघका प्रवक्ता तथा लुम्बिनी प्रदेश अध्यक्ष उमेशचन्द्र यादवका अनुसार मन्त्रालयको आग्रह र छलफलबाट निकास निस्कने विश्वासका कारण महासंघले आफ्नो घोषित आन्दोलनलाई दुई हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको छ । यो निर्णयले अहिलेलाई राजमार्गमा हुने यातायात अवरोधको समस्या टरेको छ ।
बक्यौता अनुदानको तत्काल भुक्तानी : गत वर्षको बाँकी रहेको प्रति क्वीन्टल ३५ रुपियाँको अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने र वैज्ञानिक समर्थन मूल्य कायम : विज्ञ समितिको सिफारिस अनुसार प्रति क्वीन्टल ७१० रुपियाँको समर्थन मूल्य तत्काल कायम गर्नुपर्ने माग छ ।

बाँकी अनुदान रकमको दाबी र उखुको वैज्ञानिक समर्थन मूल्य निर्धारण गर्न माग
महासंघका अनुसार, विगत वर्षमा उखु बिक्री गरेपछि किसानहरूले नेपाल सरकारबाट प्रति क्वीन्टल ७० रुपियाँको दरले अनुदान रकम प्राप्त गर्नुपर्ने थियो । तर महासंघको दाबी छ कि सरकारले उक्त रकममध्ये ३५ रुपियाँ कटौती गरी किसानलाई बाँकी ३५ रुपियाँ प्रति क्वीन्टलको दरले मात्र भुक्तानी गरेको छ । उखुको वैज्ञानिक समर्थन मूल्य तत्काल निर्धारण गर्न माग रहेको छ ।
महासंघले सरकारबाट दुई हप्ताभित्रै किसानको हितमा मूल्य निर्धारण हुने विश्वास व्यक्त गरेको छ । अन्यथा, स्थगित भएको आन्दोलनलाई पुनः अगाडि बढाउन महासंघ बाध्य हुने जानकारी दिएको छ ।
महासंघका अनुसार सम्पूर्ण उखु किसानहरूलाई आन्दोलन स्थगित भए तापनि मूल्य निर्धारणको विषयमा सचेत रहन र महासंघका आगामी निर्णय तथा गतिविधिका लागि तयार रहन आग्रह गरेका छन् ।