लमजुङ, मङ्सिर १६ गते । लमजुङको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक स्थल गाउँसहर कालिका मन्दिरको प्रचारप्रसार तथा सत्तल निर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा ६६ लाख २६ हजार ७६० रुपियाँ ७५ पैसा दान सङ्कलन भएको छ । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमा सङ्कलित रकमबाट यहाँ सत्तलसहितका भौतिक संरचना निर्माण गरिने आयोजकले जनाएको छ ।
महायज्ञ सञ्चालन गर्न १६ लाख ५७ हजार ६२० रुपियाँ खर्च भएको र ४९ लाख ६९ हजार १४० रुपियाँ बचत भएको प्रचारप्रसार समितिका संयोजक राजेन्द्र बोहोराले जानकारी दिनुभयो । विसं १५५० मा स्थापित कालिका मन्दिरको पुनर्निर्माण र प्रचार गर्न गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजना र बेँसीसहर नगरपालिका–३ को संरक्षकत्वमा महायज्ञ लगाइएको थियो । महापुराण सप्ताह ज्ञान महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले प्रवचन दिनुभएको थियो ।