• १६ मङ्सिर २०८२, मङ्गलबार

भरुवा बन्दुक पड्काउने शाही पुनः पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १६ गते ।
पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही (ठकुरी भेना) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका शाहीलाई उच्च अदालत पोखराको पछिल्लो आदेशपछि प्रहरीले खोजी गरेको थियो ।

गत साउन ६ गते घरको बारीमा सुन्तलाको बिरुवा रोप्दै गर्दा ४४ वर्षीय सुरेन्द्र रेग्मी भरुवा बन्दुकका छर्रा लागेर घाइते भएपछि घटनाको अनुसन्धान अघि बढेको थियो ।

अनुसन्धानका क्रममा स्थानीय शाहीको संलग्नता रहेको भन्दै प्रहरीले साउन ८ गते पहिलोपटक तनहुँबाट पक्राउ गरेको थियो ।
सोही क्रममा शाहीले  पुतलीबजार –७ मा लुकाई राखेको एक नाले भरुवा बन्दुक समेत बरामद गरिएको थियो ।

शाहीलाई स्याङ्जा जिल्ला अदालतले भदौ ३ गते धरौटीमा छाडेपनि उच्च अदालत पोखराले थप प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि पुनः पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले बताउनुभयो ।

उज्च अदालतको निर्देशन अनुसार शाहीलाई कानुनी कारबाहीमा अगाडि बढाएको चौधारीले बताउनुभयो ।