• १५ मंसिर २०८२, सोमबार

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम

blog

काठमाडौँ, मङ्सिर १५ गते । नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम सुरु गरेको छ । मर्मतसम्भार गरी पुरानै भवनबाट पार्टीको काम सुरु गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । 

“पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवको कार्यकक्ष मर्मत गरी बस्न थाल्नुभएको छ”, उहाँले भन्नुभयो, “पार्टीका सबै कामकारबाही पुरानै भवनबाट सुरु गरिएको छ ।” पार्टी महासचिव शङ्कर पोखरेल पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नै कार्यकक्षबाट भेटघाट सुरु गर्नुभएको छ । आगजनी र तोडफोड भएपछि एमाले कार्यालय टेन्ट टाँगेर सञ्चालन गरिएको थियो । 

कार्यालय सचिव डा. अधिकारीले केन्द्रीय कमिटी बैठक सभाहल र अन्य साना केही कोठामात्र मर्मत गर्न बाँकी रहेको बताउनुभयो । गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएपछि मर्मत गरिएको हो । 

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता तथा कार्यकर्ताका निजी घर र व्यवसायमा समेत क्षति भएको थियो । रासस