• १५ मंसिर २०८२, सोमबार

एयरबस ए ३२० सिरिजका १०० भन्दा कम विमान ग्राउन्डेड

blog

पेरिस, मङ्सिर १५ गते । एयरबसले आफ्नो ए ३२० सिरिजका १०० भन्दा कम विमान अझै पनि तत्काल आवश्यक सफ्टवेयर अद्यावधिकका कारण ग्राउन्डेड रहेको पुष्टि गरेको छ । गत हप्ता छ हजार जेटमा असर पर्न सक्ने चेतावनी जारी गरेपछि उठेको चिन्ताबिच कम्पनीले अधिकांश विमानमा आवश्यक परिमार्जन पूरा भइसकेको स्पष्ट गरेको हो ।

एयरबसद्वारा जारी विज्ञप्तिमा ‘विशाल बहुमतका विमानले आवश्यक संशोधन पाइसकेका छन् । बाँकी १०० भन्दा कम विमानलाई पनि यथाशीघ्र सेवामा फर्काउन हामी एयरलाइन्स ग्राहकसँग नजिकबाट समन्वय गर्दैछौँ’ भन्ने उल्लेख गरिएको छ । युरोपको शीर्ष विमान निर्माताले केही दिनअगाडि नै आफ्ना ग्राहकलाई सफ्टवेयर प्रतिस्थापनका लागि ‘तत्काल सावधानी अपनाउन’ आग्रह गरेको थियो ।

यस चेतावनीले सयौँ विमान लामो समयसम्म ग्राउन्डेड रहने आशङ्का पैदा गरे पनि अधिकांश युरोपेली एयरलाइन्सले असर न्यूनतम रहेको जनाएका छन् । तर कोलम्बियाली एयरलाइन्स अभियाङ्काले भने आफ्नो कुल फ्लीटको ७० प्रतिशत प्रभावित भएकाले आगामी १० दिनसम्म उल्लेखनीय अवरोध आउने भन्दै डिसेम्बर ८ सम्म टिकट बिक्री स्थगित गरेको छ ।

एयरबसले अक्टोबरमा एउटा जेटब्लु उडानमा देखिएको प्राविधिक समस्याको समीक्षा गरेपछि यो चेतावनी जारी गरेको हो । तीव्र सौर्य विकिरणले उडान नियन्त्रण प्रणालीका लागि महत्त्वपूर्ण डेटामा असर पुर्याउन सक्ने सम्भावना देखिएपछि सफ्टवेयर फिक्स अनिवार्य गरिएको कम्पनीले जनाएको छ । रासस/एएफपी