काठमाडौँ, मङ्सिर १५ गते । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी आठ टोलीमध्ये साविक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ ।
लिगमा हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम दुई खेल अगावै अपराजित रही पाँच खेल जितेर प्लेअफमा सुरक्षित भएको हो । सुदूरपश्चिम अहिले १० अङ्क जोडेर शीर्ष स्थानमा छ ।
अब सुदूरपश्चिमले विराटनगर किंग्स र चितवन राइनोजससँग खेल्न बाँकी छ । बाँकी रहेका दुई खेल पनि जितेर सुदूरपश्चिम पहिलो क्यालिफायरमा पुग्ने लक्ष्यमा छ ।
अङ्कतालिकाको दोस्रो स्थानमा ६ खेलमा चार खेल जितेको काठमान्डू गोर्खाज र तेस्रो स्थानमा पाँच खेलबाट आठ अङ्क नै जोडेको विराटनगर रहेको छ । यी दुवै टोली प्लेअफ नजिक छन् ।
चौथो स्थानमा चितवन राइनोज रहेको छ । चार खेलबाट चार अङ्क जोडेको चितवन पनि प्लेअफको दौडमा छ । पाँच खेलबाट चार अङ्क जोडेको लुम्बिनी लायन्स पाचौँ, पाँच खेलबाट एक खेल मात्रै जितेको कर्णाली याक्स छैटौँ, चार खेलमा दुई अङ्क मात्रै रहेको पोखरा एभेन्जर्स सातौँ र चार खेलमा अङ्कविहीन रहेको जनकपुर बोल्टस पुछारमा छ ।
पाँच खेलमा नायक बने पाँच फरक खेलाडी
सुदूरपश्चिमको अर्को विशेषता भनेको कुनै एक खेलाडी तथा विदेशी खेलाडीको भरमा मात्र खेलेको छैन । लगातार पाँच खेल जित्दा सुदूरपश्चिमका फरक फरक खेलाडी नायक बन्दै ‘प्लेयर अफ दी म्याच’ भएका छन् । जसमा तीन नेपाली र दुई विदेशी खेलाडीले उत्कृष्ट खेलेका थिए ।
उत्कृष्ट खेल्दै टोलीलाई जिताउनेमा नेपाली खेलाडीमा स्वयं कप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र इशान पाण्डेय हुनुहुन्छ । यस्तै विदेशी खेलाडीमा हर्मित सिंह र जोस ब्राउन रहनुभएको छ ।
सुदूरपश्चिमको पहिलो जितमा हर्मित सिंहले अलराउन्ड प्रदर्शन गर्नुभयो । काठमान्डुलाई २९ रनले हराएको यो खेलमा हर्मितले विस्फोटक पारि खेल्दै २० बलमा दुई चौका र ६ छक्कासहित ५३ रन बनाउनुभएको थियो । साथै उहाँले बलिङमा पनि महत्वपूर्ण दुई विकेट लिनुभएको थियो ।
दोस्रो खेलका नायक बन्नुभएका जोस ब्राउनले ३५ बलमा ६८ रनको उत्कृष्ट पारि खेल्नुभयो । पोखराविरुद्धको यो खेल सुदूरपश्चिमले १८ रनले जितेको थियो ।
तेस्रो जित निकाल्ने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरी चम्किनुभयो । कर्णालीविरुद्धको उक्त खेलमा ऐरीले ब्याटबाट ३९ रन बटुले भने बलिङतर्फ चार विकेट लिनुभयो ।
चौथो जितमा पारम्भिक ब्याटर विनोद भण्डारी ‘म्याच विनर’ बन्नुभयो । लुम्बिनीलाई पराजित गरेको यो खेलमा भण्डारीले अविजित ६९ रन जोड्नुभएको थियो ।
यस्तै साविक विजेता जनकपुरलाई हराएर पाचौँ जित निकालेको खेलमा इशान पाण्डेले उत्कृष्ट खेल्नुभयो । उहाँले ५६ रन बनाउनुभएको थियो । सुदूरपश्चिमले सबैभन्दा बढी नौ स्थानीय खेलाडीलाई टोलीमा राखेको छ ।
जसमा कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा र हिक्मत महरा रहनुभएको छ ।
अर्धशतकमा बनाउने सुदूरपश्चिमकै खेलाडी अगाडि
प्रतियोगितामा हालसम्म १७ खेलाडीले अर्धशतक हिर्काएकामा सुदूरपश्चिमकै खेलाडी अग्रस्थानमा छन् । सुदूरपश्चिमका चार खेलाडीले अर्धशतक बनाए । अर्धशतक बनाउनेमा विनोद भण्डारी, इशान पाण्डेय, जोस ब्राउन र हरमित सिंह रहनुभएको छ ।
यस्तै हालसम्म एनपिएलमा अर्धशतक बनाउने अन्य खेलाडीमा पोखराका कप्तान कुशल भुर्तेल, पोखराकै सुमित बर्मा, एडम रोसिङटन र जिम्मी निशम, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल र बसिर अहमद, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति र आशिफ शेख, काठमान्डु गोर्खाजका जोन सिम्प्सन, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल तथा चितवन राइनोजका रवि बोपरा रहनुभएको छ ।
बोपराले तीन तथा भुर्तेल र पञ्चालले दुई/दुई अर्धशतक बनाउनुभएको छ । यता जारी प्रतियोगितामा शतक बनाउने एक्ला खेलाडी कर्णालीका मार्क वाट मात्र हुनुहुन्छ ।
बलिङतर्फ पनि सुदूरपश्चिमका खेलाडी हाबी
बलिङतर्फ सुदूरपश्चिमका खेलाडी हाबी देखिएका छन् । हालसम्म सुदूरपश्चिमका अभिनाश बोहरा ११ विकेट लिँदै पहिलो स्थानमा हुनुहुन्छ ।
दोस्रो स्थानमा विराटनगरका कप्तान सन्दीप लामिछाने रहनुभएको छ । सन्दीपले १० विकेट लिनुभएको छ । समान १०/१० विकेट लिएका काठमान्डुका मिलिन्द कुमार र कप्तान करण केसी क्रमश: तेस्रो र चौथो स्थानमा हुनुहुन्छ । नौ विकेट लिनेमा सुदूरपश्चिमका हर्मित सिंह पाचौँ स्थानमा हुनुहुन्छ ।
बढी रन बनाउने चितवनका रवि बोपरा
सबैभन्दा बढी रन बनाउनेमा चितवनका रवि बोपरा रहनुभएको छ । उहाँले हालसम्म २०४ रन बनाउनुभएको छ । यस्तै दोस्रोमा १८४ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा १७४ रन जोडेका लुम्बिनीका कप्तान रोहितकुमार पौडेल तथा समान १६५ रन बनाएका कर्णालीका प्रियाङ्क र सुदूरपश्चिमका विनोद भण्डारी क्रमश: चौथो र पाँचौँ स्थानमा हुनुहुन्छ ।
विराटनगर कीर्तिमानी स्कोर बनाउने टोली
जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टोलीमा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो ।
दोस्रो उच्च स्कोर बनाउने टोली सुदूरपश्चिम हो । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो । जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउने टोली चितवन हो ।
चितवनको पारी काठमान्डु गोर्खाजसँग ८९ रनमा समेटिएको थियो । यसअघि उक्त रेकर्ड कर्णालीका नाममा थियो । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णालीको पारी ९४ रनमा समेटिएको थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ । रासस