• १५ मंसिर २०८२, सोमबार

स्वाधीनताको पक्षमा उभिदा चौतर्फी हमला भयो : नेता गुरुङ

blog

प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित संवाद कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । तस्बिरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १५ गते । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएपछि एमालेजनप्रति चौतर्फी हमला भएको बताउनुभएको छ । 

प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित संवाद कार्यक्रममा उपमहासचिव गुरुङले सो कुरा बताउनुभएको हो । राष्ट्रिय स्वाधीनताको ब्रान्ड एमाले अध्यक्ष केपी शर्मा ओली भएको चर्चा गर्नुहुँदै उहाँले थप्नुभयो, “केपी ओली राष्ट्रिय स्वाधीनताको पहरेदार हो, उहाँको यो अभियानको हामी सबैले संरक्षण गर्नुपर्छ ।”

पछिल्लो जेनजी आन्दोलन नेपालमा कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्नेतर्फ लक्षित रहेको बताउँदै उहाँले थप्नुभयो, “संसद पुनस्र्थापना गरेर मुलुकको समस्या समाधान गर्न सहज हुन्छ, अहिलेको अवस्था जटिल छ, हाम्रो पार्टीले लिएको बाटो पनि यही हो ।” माओत्सेतुङले भनेको कुरा स्मरण गर्दै उहाँले भन्नुभयो, “राष्ट्रियताको पक्षमा उभिदा शत्रुहरु धेरै भए, सत्यको बाटो हिड्दा यस्तो हुन्छ ।”

जनताको बहुदलीय जनवाद (जवज) को उत्तराधिकारी अध्यक्ष ओली भएको बताउँदै उहाँले जनतालाई अझै जवजबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । ओली नेतृत्वमा सरकार रहँदा मुलुकको आर्थिक–सामाजिक रुपान्तरण सम्भव भएको उहाँको भनाइ छ । 

राजमार्ग फराकिलो पार्ने काम, सुरुङ निर्माणको काम, धरहरा, रानीपोखरी निर्माणको काम, आर्थिक बृद्धिदर, चीनसँगको पारवाहन सन्धी, भारतीय नाकाबन्दीको सामना, भूकम्पबाट पीडितलाई पुनस्र्थापना, कोभिडको सामना गर्ने सक्षमता ओली नेतृत्वकै सरकारमा सम्भव भएको उहाँले बताउनुभयो । 


सञ्जालमा प्रतिबन्ध थिएन

सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने नीति सरकारको नभएको बताउँदै उहाँले अराजकतालाई नियमन गर्न दर्ताका लागि आव्हान मात्र गरिएको उहाँले बताउनुभयो । 

‘विदेशी कम्पनीले नेपालमा दर्ता नै नभई अरबौंको व्यापार गरिरहेका बेला नेपालमा सूचीकरण होऔ मात्र भनेका थियौं, त्यसका लागि एक हप्ताको समय दिइएको थियो’ तत्कालीन सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले भन्नुभयो, “सानो किराना पसल गर्दा त दर्ता गर्नुपर्छ भने विदेशी कम्पनी हामीकहाँ किन दर्ता गर्न नपर्ने ?, सूचीकरण गरेर व्यवस्थित गर्न नियमन गर्ने सरकारको लक्ष्य थियो ।”

जेनजी युवाहरुको माग समग्रमा राम्रो माग भए पनि जेनजीको आवरणमा मुलुकलाई बर्बाद गर्ने प्रयास भएको उहाँले बताउनुभयो । “मुलुकको महत्वपूर्ण संरचनाहरु जलाउने योजना जेनजीको थिएन, त्यसमा अरुले आफ्नो स्वार्थ पूरा गरेका हुन् । अहिले पनि जेनजी युवाहरु त्यसमा सचेत हुनुपर्छ” उहाँले थप्नुभयो, “अहिले सामाजिक सञ्जालका कन्टेन्ट्समा मनपरी छ, जसले जे लेखे पनि भएको छ । अराजकता र अश्लिलतालाई नियमन गर्ने प्रयास सरकारले गरेको थियो ।”

नेपालमा आएपछि विदेशी कुनै पनि संस्था सूचीकरण हुनैपर्छ । नेपालमा आउँदा नेपालकै कानुनअनुसार चल्नुपर्छ उहाँले भन्नुभयो । एउटा थिती बसाउन नसक्दा मुलुक समस्यामा पर्दैगएको उहाँको भनाइ छ । 

महासचिव उठ्छु 

समिपमा रहेको नेकपा (एमाले) को ११ औं) महाधिवेशनमा आफू महासचिव पदमा प्रतिस्पर्धा गर्ने नेता गुरुङले घोषणा गर्नुभयो । अहिले उपमहासचिवको जिम्मेवारीमा रहनुभएका गुरुङले भन्नुभयो, “अब मैले लिने पद महासचिव हो, त्यही पदमा भिड्ने सोच बनाएको छुँ ।” 

महाधिवेशनमा आकांक्षीहरु स्वाभाविक रुपमा धेरै रहने गरे पनि पार्टी नेतृत्वले आवश्यकता अनुसार सहमतिको प्रयास गर्ने उहाँको भनाइ छ । अध्यक्षमा ओलीको विकल्प नरहेको उहाँले बताउनुभयो । मुलुकको राष्ट्रियता जोगाउन र कम्युनिष्ट आन्दोलनलाई गति दिन ओलीको नेतृत्व अपरिहार्य छ, उहाँले भन्नुभयो । एमाले महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको संवाद कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरु यज्ञ सुनुवार, निरज आचार्य, प्रेस चौतारी नेपालका पूर्व अध्यक्षहरु राजेन्द्र अर्याल, गणेश बस्नेत लगायतको उपस्थिति थियो ।