• १५ मंसिर २०८२, सोमबार

गोरखाको पालुङटारमा कुमाल सङ्ग्रहालय निर्माण

blog

गोरखाको पालुङटार नगरपालिका-७ कोलडाडाँमा बनेको कुमाल सङ्ग्रहालय ।

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर १५ गते । गोरखाको पालुङटारमा कुमाल समुदायको इतिहास, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले पालुङटार–७, ढिकिडाँडामा कुमाल सङ्ग्रहालय निर्माण भएको छ। स्थानीय तहको बजेट, प्रदेशको बजेट तथा समुदायको सक्रिय पहलमा सुरु गरिएको यो सङ्ग्रहालयले कुमाल संस्कृति, पराम्परागत सीप, बसोवास शैली र उपकरणहरूलाई व्यवस्थित रूपमा प्रदर्शन गर्न कुमाल सङ्ग्रहालय निर्माण भएको हो । 

सङ्ग्रहालय निर्माणका लागि आवश्यक १० आना जमिन स्थानीयवासीले नै उपलब्ध गराइदिएका छन् । भवन निर्माणका लागि आर्थिक वर्ष २०७७-०७८ मा गण्डकी प्रदेश सरकारको ५० लाख लगानीमा सङ्ग्रहालय निर्माण भएको छ भने सङ्ग्रहालय नजिक पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०७७-०७८ मा २० लाख लगानीमा गोल घर निर्माण गरिएको पालुङटार–७ का वडाध्यक्ष अर्जुन कुमालले बताउनुभयो । 

भवन निर्माण समपन्न भएता पनि कुमाल समुदायले प्रयोग गर्ने पराम्परागत भाँडाकुडा, कृषि औजार, ढुङ्गामाटोका घरको नमुना, सांस्कृतिक लुगा तथा नृत्यसँग समबन्धित सामग्री समटेने तयारी भइरहेको वडाध्यक्ष कुमालको भनाइ छ । 

कुमाल समुदायको मौलिक पहिचान जोगाउने दिर्घकालिन संरचना आवश्यक भएकाले सङ्ग्रहालय निर्माणमा समुदाय एक ढिक्का भएर स्थानीय तह र प्रदेश सरकारसँग बजेट माग गर्दै आवश्यक सामग्री व्यवस्थापन गर्न लागिरहेको सङ्ग्रहालय निर्माण समितिका सचिव देवीलाल कुमालले बताउनुभयो ।   

सङ्ग्रहालय निर्माण समपन्न भएपछि यसले स्थानिय पर्यटन प्रवर्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । नगरपालिकाले आगमी वर्षभित्र भवन निर्माण पूरा भएसँगै सङ्ग्रहालयमा सर्वसाधरणका लागि खुला गर्ने लक्ष्य राखेको छ । 

भवन संरचना बनिसकेकाले कुमाल समुदायसँगै रहेका सामग्री एवम् भेषभुषालाई लगेर सजाउने काम मात्र बाँकी रहेकाले त्यसका लागि आवश्याक समन्वय र सहकार्य गर्न सधैं नगरपालिका तयार रहेको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनको भनाइ छ । 

सङ्ग्रहालय हाम्रो नगरको सांस्कृतिक सम्पदा संरक्षणको महत्त्वपूर्ण परियोजना भन्दै नगर प्रमुख चिन्तनले अर्को वर्षमा आवश्यक स्रोत जुटाएर निरन्तरता दिने योजना रहेको स्पष्ट पार्नुभयो । उक्त सङ्ग्रहालयमा कुमाल समुदायको दैनिक रूपमा प्रयोग हुने सामग्रीहरू राख्ने योजना छ । तर उक्त सामग्री सङ्कलन व्यवस्थापन र सजावटका लागि बजेट चाहिने भएको स्थानीय कुमाल समुदायले बताएका छन् ।   

पछिल्लो समय कुमाल समुदायको परम्परागत सामग्रीहरू लोप हुँदै गएका छन्, वडाध्यक्ष कुमालले भन्नुभयो, सङ्ग्रहालयमा कुमाल समुदायले प्रदर्शनका लागि राखिँदा भावि पुस्ताले समेत देख्न पाउनुका साथै हाम्रो रितिरिवाज तथा संस्कृति झल्कने विभिन्न सामग्री र दैनिक प्रयोग हुने घैटो, कोल, ढिकी जाँतो, जस्ता सामग्री राख्ने कोसिस भइरहेको छ ।’ उक्त कुमाल सङ्ग्रहालयले कला संस्कृतिलाई जर्गेना पनि सहयोग पुग्ने विश्वास छ ।