काठमाडौँ, मङ्सिर १५ गते । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ ।
युएईको अजमानस्थित करवान मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराएर उपाधि नजिक पुगेको हो । यस्तै युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यसैबीच फाइनल यात्रा तय गरेसँगै नेपाल र युएई आगामी एसिया कप खेल्न छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनल पुग्ने टोली सिधै एसिया कपका लागि छनोट हुने प्रावधान छ ।
यस्तै सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपका लागि छनोट हुनेछ । तेस्रो स्थानका लागि आजै मलेसिया र ओमानबीच खेल हुनेछ । एसीसी पुरुष यू–१९ प्रिमियर कपमा १४ टोलीको सहभागिता थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ । रासस