जनार्जन खत्री
सर्लाही, मङ्सिर १५ गते । सर्लाही, महोत्तरी र धनुषा जिल्लामा पूर्वपश्चिम राजमार्ग विस्तारका लागि साढे ११ हजार रुख कटानको आदेश भएको छ ।
लामो प्रतिक्षापछि डिभिजन वन कार्यालय, वन तथा भू–संरक्षण विभाग र वन तथा वातावरण मन्त्रालय हुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख कटानको आदेश भएको हो । कमला–ढल्केबर–पथलैया सडक योजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने सर्लाही, महोत्तरी र धनुषा गरी तीन जिल्लामा ११ हजार ५७७ रुख काटिने भएको छ ।
सबैभन्दा धेरै सालको रुख काटिने भएको छ । सडक आयोजनाका सूचना अधिकारी राजकिशोर सिंहका अनुसार पूर्वपश्चिम राजमार्ग बिस्तार गरेर चार लेनको बनाउँदा सबैभन्दा बढी रुख महोत्तरीमा कटान हुने भएको छ ।
महोत्तरीमा छ हजार २७ रुख कटान हुनेछ । त्यसपछि सर्लाहीमा तीन हजार ६७४ र धनुषामा एक हजार ८७६ रुख कटान गरिने भएको छ । तीन जिल्लामध्ये सर्लाही र धनुषामा रुख कटानको काम सुरु भइसकेको छ । महोत्तरीको बाँके सवडिभिजन वन कार्यालय अन्तर्गत केही प्राविधिक काम बाँकी रहेकाले रुख कटान सुरु गर्न अझै दुई–चार दिन लाग्न सक्ने आयोजनाका सूचना अधिकारी सिंहले बताउनुभयो ।
प्राथमिकता प्राप्त राष्ट्रिय आयोजना निर्माणका क्रममा रुख कटान गर्नुपर्दा मन्त्रीपरिषद्बाटै निर्णय हुनुपर्ने हुन्छ । छपान भएको महिनौँसम्म पनि रुख कटानको अनुमति प्राप्त हुन नसक्दा राजमार्ग विस्तारको कामले गति लिन सकेको थिएन ।
आदेश प्राप्त हुनासाथ सडक आयोजनाले ठेकेदारसँग सम्झौता गरी रुख कटानको काम अघि बढाएको हो । सडक विस्तारका लागि काटिएको रुख ठेकेदारले घाटगद्दी गरेर सम्वन्धित जिल्लाको डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
डिभिजन वन कार्यालयले काठ सूचना निकालेर लिलाम गर्नेछ । रुख कटानको समस्या समाधान भए पनि अझै प्रमुख समस्याको रुपमा रहेको बिजुलीको पोल सार्ने र खानेपानीको पाइप बिछ्याउने काम चूनौतीकै रुपमा रहेको कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख राजेशकुमार दासले बताउनुभयो ।
उहाँका अनुसार बिजुलीको पोल सार्न ढिलाइ हुँदा काम गर्न समस्या परेको भन्दै निर्माण व्यवसायीले निरन्तर गुनासो गर्दै आइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई जतिसक्दो चाँडो सडकको क्षेत्राधिकारभित्र पर्ने बिजुलीका पोल र तारको व्यवस्थापन गर्न ताकेता गरिरहेको आयोजना प्रमुख दासले बताउनुभयो ।
कतिपय ठाउँमा बिजुलीको पोल नहटाउँदा रुख काट्न र कतै रुख नकाट्दा बिजुलीको पोल हटाउन समस्या परेको आयोजनाले जनाएको छ । कमला पुलदेखि पथलैयासम्मको १३० किलोमिटर सडक विस्तार अन्तर्गत सर्लाही, महोत्तरी र धनुषामा गत वर्षदेखि धमाधम काम भइरहेको छ । रौतहट र बारा खण्डको कामसमेत अघि बढाउन पश्चिमी खण्ड हेर्नेगरी रौतहटको चन्द्रनिगाहपुरमा कार्यालय स्थापना गरिएको छ ।
अब सर्लाही, महोत्तरी र धनुषाको सडक पूर्वीखण्ड तथा रौतहट र बारा जिल्लाको सडक पश्चिमीखण्डले हेर्ने भएका छन् । अहिले दुई लेनको रहेको पूर्वपश्चिम राजमार्गलाई अब विस्तार गरेर बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर र अन्य ठाउँमा चार लेनसहित १८ मिटर चौडाइ बनाइने छ । सडक विस्तारको काम गर्न विश्व बैङ्कले १८ अर्ब ६० करोड रुपियाँ ऋण सहयोग प्रदान गरेको छ ।