गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १५ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र कर्जा प्रमुख अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको छ । बैङ्किङ कसुरसम्बन्धी राष्ट्र बैङ्कको प्रतिवेदनका आधारमा सिआइबीको टोलीले शेरचनलाई बिजुलीबजारस्थित प्रभु बैङ्कको प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।
शेरचन पक्राउ गर्नुअघि गत कात्तिक २२ गते सिआइबीले प्रभु बैङ्कको सो प्रमुख कार्यालयमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।
त्यसअघि गत कात्तिक ११ गते सिआइबीले प्रभु समूहका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । देवीप्रकाशमाथि प्रभु म्यानेजमेन्ट कम्पनीको ९८ करोड रुपियाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाको उजुरीपछि सिआइबीले अध्यक्ष भट्टचन र सिइओ शेरचनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाबारे आवश्यक अनुसन्धानका लागि सिइओ शेरचनलाई आइतबार पक्राउ गरिएको जानकारी दिनुभयो । पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि बैङ्कको कर्जा अपचलन गरेको कसुरमा सिआइबीले अनुन्धान गरिरहेको छ । तत्कालीन अध्यक्ष भट्टचन र सञ्चालक कुसुम लामाको संयुक्त कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिबाट करिब एक अर्ब रुपियाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विसं २०६९ मङ्सिरदेखि विसं २०८१ जेठसम्म अध्यक्ष भट्टचन र सिइओ शेरचनको संलग्नतामा प्रभु म्यानेजमेन्ट प्रालिमार्फत झन्डै तीन हजार सहकारी संस्थालाई मनी ट्रान्सफरको ‘सुपर एजेन्ट’ खडा गरी झन्डै अर्ब रुपियाँ धरौटीबापतको रकम उठाएर हिनामिना गरेको पाइएको छ । कम्पनी प्रभु म्यानेजमेन्ट कम्पनीकी अध्यक्ष कुसुम लामा, ठाकुरप्रसाद मानन्धरलगायतको जाहेरीपछि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अन्तर्गतको कसुरमा शेरचन र भट्टचनमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।