रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर १४ गते । गुल्मीमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले गत वर्षभन्दा यस वर्ष ८ दशमलव ६१ प्रतिशतले धान उत्पादन घटेको अनुमान गरेको हो । यस जिल्लामा प्रत्येक वर्ष धानको उत्पादन र क्षेत्रफल घट्दै गएको छ। सुरुमा खडेरी, फूल खेल्ने बेला पानी र हावा पर्नुका साथै धान पाक्ने बेलामा लगातार पानी परेको हुँदा अहिले धान उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
खेतहरु बाँझो बन्दै जानु, उन्नत बीउको प्रयोग कम हुनु, रासायनिक मलको उपलब्धता नहुँनु, बसाइँसराइ, काम गर्ने श्रमिकहरुको कमी हुनु जस्ता कारणले धानको उत्पादनमा कमी आएको हो । वर्षे धान रोप्ने समयमा खडेरी परेको हुँदा पानीका मुहानहरु सुख्खासँगै टारी खेतहरु समेत सुख्खा भएका थिए । पानी ढिला परेको र बीउ नर्सरीमै सुकेको थियो । यस जिल्लामा गत वर्ष २४ हजार ४२६ मेट्रिकटन धान उत्पादन भएको थियो । यस पटक उत्पादन घटेर २२ हजार ३२३ मेट्रिकटन उत्पादन हुने भएको बताइएको छ । गत वर्ष यहाँ धान उत्पादनमा वृद्धि भए पनि अहिले धानको क्षेत्रफलसँगै उत्पादन पनि घटेको सूचना अधिकारी टिकाराम न्यौपानेले बताउनुभयो ।
मसिना बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ । गत वर्ष गुल्मीमा पाँच करोड रुपियाँ बराबरको चामल आयात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ चैते धान ३१५ हेक्टरमा खेती गरिन्छ । वर्षे धान छ हजार २७० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । हँसराज, आँपझोते, झाप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी जातका धान खेती गरिन्छ । कम उत्पादन दिने भएपनि स्थानीय जातमा भएका विशेष गुणका कारण किसानले यी जातका धान लगाउँदै आएका छन् । उन्नत जातका साँवा मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली जातका धान उत्पादन गरिन्छ । वर्णसंकर जातका यूएस ३१२ र चेम्पाङ्ग धान पनि उत्पादन गरिन्छ । उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान कृषकको रोजाइमा पर्ने गरेको छ ।
जिल्लाको कालीगण्डकीमा अर्वेनी, कनौटा, छापचौर, सत्यवतीमा लिम्घा, अस्लेवा, जोहाङ्ग खैरेनी, साहाघाट, चेहेमी फाँट र चन्द्रकोटमा मजुवा, रुपाकोट, शान्तिपुरका फाँटहरुमा धानखेती गरिन्छ । मुसिकोटमा तल्ला फाँट, इन्द्रेगौडा भुवाचिदी, वामीटक्सार, पौदी अरेवा, भर्मचौरलगायत बडिघाट खोलाको आसपासका क्षेत्रमा धानखेती गरिन्छ । मालिकामा सिमलटारी, फूलबारी, सिलादी, मदानेमा सिर्सेनीस्थित सिम, अग्लुङ्ग फेदी, भनभनेको तल्लो क्षेत्रमा धान खेती गरिन्छ। धुर्कोटमा पनाहाखोला र छल्दी खोलाका फाँटहरु, ईस्मामा चौरासीफाँट, हुलाके, हस्तिचौरलगायत छल्दी र निस्ती खोलाको आसपास क्षेत्रमा धान खेती गरिन्छ । गुल्मीदरबारमा गरमटारी, खज्र्याङ्ग, घोडाहाफाँट, टारी फाँट, छत्रकोटमा खज्र्याङ्, मनबाग, अँगाहा, उल्लीखोला, बोआ फाँट र रुरुक्षेत्रमा टाहाटिम, घिउबेसी, छम्दी र कालीगण्डकीको आसपासको क्षेत्रमा धानखेती गरिन्छ ।