• १२ वैशाख २०८३, शनिबार

गोरखामा स्तन क्यान्सरसम्बन्धी भिआइए परीक्षण

blog

गुणबहादुर रोका 
सुलीकोट, मङ्सिर १३ गते ।
गोरखाको शहीद लखन गाउँपालिका–७, बुङकोटमा महिला स्तन क्यान्सरसम्बन्धी भिआइए परीक्षण भएको छ । हाम्रो साहारा फाउन्डेसन र वडा कार्यालयको समन्वयमा बिहीबारदेखि दुई दिनसम्म चलेको स्वास्थ्य शिविरमा कुल तीन सय १६ जना महिलाहरूको स्तन क्यान्सरसम्बन्धी भिआइए परीक्षण भएको हो ।

जिल्लाका विभिन्न स्थानीय तहमा महिलाहरूमा स्तन क्यान्सर तथा पाठेघरसम्बन्धी रोगको जोखिम बढ्दै गएको देखिएपछि वडा कार्यालयले भिआइए परीक्षण तथा स्तन क्यान्सर स्क्रिनिङ अभियानलाई तीव्र पारिएको शहीद लखन गाउँपालिका –७ का वडाध्यक्ष शरण श्रेष्ठले बताउनुभयो ।

वडा कार्यालय परिसरमा स्वास्थ्य परीक्षण गर्दा तीन सय १६ मध्ये ६ जनामा क्यान्सरको जोखिम देखिएको छ भने १५ जना महिलामा पाठेघरको समस्या देखिएको हाम्रो साहारा फाउन्डेसनका अध्यक्ष कल्पना श्रेष्ठको भनाइ छ ।

हाम्रो साहारा फाउन्डेसनको आयोजनामा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेबा पुग्न कठिन भएका पालिकाहरूमा विज्ञ चिकित्सकसहित निःशुल्क रूपमा परीक्षण गर्दै आएको हाम्रो साहारा फाउन्डेसनले जनाएको छ ।  

परीक्षणमा संलग्न चिकित्सकको टोलीले महिलाहरूमा स्तनमा गाँठो देखिनु, असामान्य दुखाइ, चिलाउने तथा परिवर्तन जस्ता लक्षणप्रति सजह हुन आग्रह गर्दै समयमै परीक्षण गरे क्यान्सर अत्यन्त प्रारम्भिक चरणमै पत्ता लाग्छ र उपचार सरल तथा प्रभावकारी हुने बताएका छन् ।

अझै पनि गाउँघरका महिलाहरूले लाज र डर तथा जानकारीको कमीका कारण धेरै महिलाको समस्या गम्भीर भएपछि मात्र अस्पताल धाउने गरेको तथ्य बाहिर आउने थालेपछि वडा कार्याललयले हाम्रो सहारा फाउन्डेसनलाई निःशुल्क शिविरका लागि आग्रह गरिएको वडा कार्यालयले जनाएको छ ।

भिआइए परीक्षण तथा स्तन क्यान्सर स्क्रिनिङको माध्यबाट महिलाहरूमा क्यान्सरको सजगता बढ्दै जाँदा दीर्घकालीन मृत्युदर घटाउने अपेक्षा गरिएको छ भने स्थानीय बुङ्कोटका महिलाहरूले स्वास्थ्य सेवा घरमा पाउने अवसरले राहत मिलेको बताएका छन् ।