• १२ मंसिर २०८२, शुक्रबार

साब्लाखु भञ्ज्याङ बजारमा आगलागी

blog

भञ्ज्याङ बजारस्थित लक्ष्मी तामाङको घरमा लागेको आगलागीको दृश्य । तस्बिर सौजन्य : फूलमाया पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १२ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको साब्लाखु भञ्ज्याङ बजारमा आगलागी भएको छ । 

भञ्ज्याङ बजारका स्थानीय लक्ष्मी तामाङको घरमा शुक्रबार दिउँसो आगलागी भएको हो । भुँइतला पक्की र माथि जस्तापाता तथा काठसमेत प्रयोग गरिएको तामाङको घरमा आगलागी भएको हो।

शुक्रबार दिउँसो ४ः३० बजे सुरु भएको आगो अझै नियन्त्रणमा आइनसकेको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना)ले जानकारी दिनुभयो ।

उपाध्यक्ष कडरियाका अनुसार घरको पक्कीभन्दा माथिको संरचना जलेर नष्ट भइसकेको छ। तामाङको घरमा लागेको आगो नियन्त्रणका लागि साब्लाखु प्रहरी चौकी, स्थानीयवासी लगायतले पहल गरिरहेका गाउँपालिकाकी कर्मचारी (रोजगार संयोजक) फूलमाया पन्दाकले जानकारी दिनुभयो । 

यता उपाध्यक्ष कडरियाको क्वार्टर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतसहित अन्य कर्मचारीको कोठासमेत सोही तामाङको घरमा रहेकाले आगलागीबाट ठूलो क्षति हुने स्थानीयले बताएका छन्।

घरको भुँइतलामा किरान पसल, होटलसमेत सञ्चालित रहेको थियो । अझै आगो नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउनलाई पनि समय लाग्ने प्रहरीले जनाएको छ । आगलागीको कारणसमेत खुली सकेको छैन।

गाउँपालिकासँग वारुणयन्त्र (दमकल) नहुँदा आगो नियन्त्रणमा लिनलाई समस्या भइरहेको बताइएको छ।

दायाँबायाँका घर तथा संरचना भने स्थानीयले जोगाउने प्रयास गरिरहेका बुझिएको छ। साब्लाखु भञ्ज्याङ बजार सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको बजार हो ।