• १२ मंसिर २०८२, शुक्रबार

पानी उद्योगका मेनेजरको रहस्यमय हत्या

blog

सर्लाहीको धनकौल गाउँपालिका (२ निवासी ४२ वर्षीय राम किशोर सिंहको शव ।

शिवशंकर मिश्रा 

बारा, मङ्सिर १२ गते । बाराको प्रसौनी गाउँपालिका-६ भलुहीस्थित किरण बिग्रेज नेपाल प्रालिमा कार्यरत मेनेजरको अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या भएको घटना सार्वजनिक भएपछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको छ ।

सर्लाहीको धनकौल गाउँपालिका -२ निवासी ४२ वर्षीय राम किशोर सिंहको बिहीबार राती उद्योगमै हत्या गरिएको हो । 

परिवारका अनुसार उहाँ हिजो साँझ करिब ७ बजे बिरगंजबाट उद्योगतर्फ जानुभएको थियो ।  करिब ८ बजेतिर अज्ञात समूह उद्योगभित्र पसेर पहिलो चरणमा सिसिटिभी क्यामेराका तार काटेको र त्यसपछि उहाँको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक जानकारी आएको छ ।

हत्या गरिएका सिंहको शव उद्योग परिसरबाट केही दूरी टाढा सानो खाडलमा फालिएको अवस्थामा शुक्रबार बिहान फेला परेको बारा प्रहरीले जनाएको छ । 

घटनाबारे प्रहरीलाई आज बिहान जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक मुचुल्का उठाएर घटनालाई गम्भीरतापूर्वक अध्ययन गरि रहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिनुभयो ।

डीएसपी पण्डितका अनुसार घटनास्थलमा प्राप्त बुझाइ र प्रारम्भिक तथ्यसँगै अनुसन्धानलाई तीव्र बनाइएको छ । हत्या कसले, किन र कसरी गर्यो भन्नेबारे प्राविधिक तथा मानवीय दुवै प्रकारको अनुसन्धान अघि बढाइएको बताउनुभयो ।

बारामा पछिल्लो समय ज्यानसम्बन्धी घटनामा वृद्धि हुँदै गएको छ । चालू आर्थिक वर्ष ८१ र ८२ को साउनदेखि कार्तिक मसान्तसम्म मात्रै कर्तव्य ज्यान २, ज्यानसम्बन्धी २६ र ज्यान मार्न खोजेको उद्देश्यका २० वटा मुद्दा जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भइ सकेका छन् । 

यसले जिल्लाको समग्र सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दै गएको सङ्केत गरेको छ । स्थानीयवासीले उद्योग परिसरमै यस्तो निर्मम ढङ्गले गरिएको हत्या सुरक्षा व्यवस्था माथिको गम्भीर प्रश्न भएको भन्दै अपराधीलाई छिटो पक्राउ गरी कडा कारबाहीको माग गरेका छन् ।

घटनाको प्रकृति हेर्दा योजनाबद्ध भएको आशङ्का गर्दै आवश्यक सबै पक्षबाट अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।