काठमाडौँ, मङ्सिर १२ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले कर्मचारीलाई इमानदार भएर काम गर्न आग्रह गर्नुभएको छ ।शुक्रबार राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहलाई सम्बाेधन गर्दै मन्त्री डा.गौतमले कर्मचारीलाई इमानदार भएर काम गर्न आग्रह गर्नुभएको हो ।
उहाँ भन्नुहुन्छ, “अहिलेको सरकार छोटो समयका लागि निर्वाचन गराउने जिम्मेवारीसाथ आएको छ तर यो सरकारको स्पष्ट म्यान्डेट संस्थागत सुदृढीकरण, प्रणाली सुधार र भ्रष्टाचार न्यूनीकरण हो । त्यसैले नतिजा देखिने गरी इमानदार भएर काम गर्नुपर्छ ।”
उहाँले आफू मन्त्री भएर मन्त्रालय समालेको एक महिना बितिसक्दा पनि स्वास्थ्य क्षेत्रमा जेनजीको भावना अनुरूप परिवर्तन हुन नसकेको भन्दै उहाँले स्वास्थ्य सचिवलाई जेनजी भावना अनुरुप काम गर्न आग्रह गर्नुभयो ।
मन्त्री गौतमले भन्नुभयो,“स्वास्थ्य समूहको सचिव जसको सरुवा नै हुँदैन, मुख्य सचिव बन्न पनि पर्दैन । यो रिसाउलान् त्यो रिसाउलान् भन्ने छैन त्यसैले ढुक्क भएर नतिजा आउनेगरी काम गर्नुहोस् ।”
दातृ निकायका प्रतिनिधिको कार्यशैली चित्तबुझ्दो नभएको उहाँको गुनासो छ । उहाँले दुई चारवटा जिल्ला प्रोजेक्ट चलाएर कागजमा भन्दा पनि वास्तविकता नतिजा देखिने गरि काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सचिव डा. विकास देवकोटाले सीमित स्रोत साधनमा उपलब्धि मूलक काम गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले जिम्मेवार र जवाफदेही भएर काम गर्न अनुरोध गर्नुभयो ।
उहाँ भन्नुहुन्छ, “पैसा लाग्ने काम मन्त्रालयले परिवर्तन गर्छ । अस्पतालमा तीनवटा निःशुल्क कुरा सरसफाइ, व्यवहार र परामर्श राम्रो बनाउनुहोस् । स्वास्थ्य सेवा परिवर्तन हुन्छ ।”
राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले १५ वटा सूचकमा मात्र उपलब्धि हासिल भएको जानकारी दिनुभयो । एसबीएस डेलिभरी, एचआईभी सङ्क्रमण, हेपाटाइटिस बी प्रिभेलेन्स, एलएफ केसेस, टिएफआर, एएनसी, संस्थागत डेलिभरी र खोपका क्षेत्रमा मात्र स्वास्थ्य मन्त्रालयले दिगो विकास लक्ष्यको उपलब्धि हासिल गरेको उहाँको भनाइ छ। बाँकी १४ वटा सूचक प्राप्तिमा चुनौती भए पनि त्यसका लागि प्रभावकारी काम भइरहेको उहाँको भनाइ छ ।
पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर, बेवास्ता गरिएका ट्रपिकल रोगहरु (मलेरिया, कालाजार), नसर्ने रोग, सडक दुर्घटना, सूर्तिजन्य पदार्थको प्रयोग र स्वास्थ्यको जिडिपीमा उपलब्धि हासिल गर्न चुनौतीपूर्ण रहेको उहाँको जिकिर छ ।
राष्ट्रिय योजना आयोगले एसडीजीका उपलब्धि हासिल गर्न २६४ दशमलव २८ बिलियन बजेट आवश्यक रहेको बताएको थियो। डा. पौडेलका अनुसार स्वास्थ्य जनशक्तिका लागि ८४ दशमलव ४६ बिलियन, स्वास्थ्य सेवाका लागि ७१ दशमलव ५३ र स्वास्थ्य संरचनाका लागि ३१ बिलियन बजेट आवश्यक छ ।