किएभ, मङ्सिर १२ गते । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका घर तथा कार्यालयमा भ्रष्टाचारविरोधी एकाइले छापा मारेको छ । रूसको आक्रमण रोक्ने प्रयास र अमेरिकी सहयोग सुनिश्चित गर्ने प्रक्रियाबिच उत्पन्न भएको यो घटना किएभका अधिकारीहरूका लागि एक अवाञ्छित चुनौतीका रूपमा देखिएको छ ।
युक्रेनमा भ्रष्टाचारविरुद्ध कार्यरत दुई प्रमुख राष्ट्रिय संस्था राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो र विशेष भ्रष्टाचार विरोधी अभियोजकको कार्यालयले यर्माकको कार्यालयमा खोजतलास गरेको पुष्टि गरेका छन् । यर्माक स्वयंले पनि आफ्नै अपार्टमेन्टमा अनुसन्धानकर्ता आएको स्वीकार गर्दै टेलिग्राममार्फत ‘अनुसन्धानकर्ताले कुनै बाधा पाएका छैनन्, मैले पूर्ण सहयोग गरिरहेको छु र मेरा कानूनी प्रतिनिधि उपस्थित छन्’ भन्नुभयो ।
यी दुवै निकाय युक्रेनी उच्च अधिकारी संलग्न रहेको करिब १० करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्र सम्बन्धी कथित ठूलो भ्रष्टाचार प्रकरणको मुख्य अनुसन्धान कर्ता हुन् । यर्माकका दुई पूर्व सहकर्मी ओलेह टाटारोभ र रोस्टिस्लाभ सुर्मा विभिन्न वित्तीय आरोपका कारण सन् २०२४ मै पदबाट बाहिरिनु परेको थियो । अर्का सहायक एन्ड्री स्मिर्नोभमाथि पनि घुस तथा अन्य अनियमिततासम्बन्धी अनुसन्धान भएको थियो, यद्यपि उहाँ अहिले पनि यर्माकका लागि काम गरिरहनुभएको छ ।
युक्रेनले युद्धकालीन आवश्यकताका कारण पश्चिमी मुलुकसँग थप सहायता मागिरहेका बेला उत्पन्न यस काण्डले राष्ट्रपति जेलेन्स्कीमाथि अतिरिक्त राजनीतिक दबाब सिर्जना गरेको छ । युरोपेली सङ्घ (इयु) मा समावेशीकरण प्रक्रिया अघि बढाउन पनि भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने भन्दै इयुले जेलेन्स्कीलाई निरन्तर आह्वान गर्दै आएको छ ।
ऊर्जा क्षेत्रसम्बन्धी अनुसन्धान सार्वजनिक भएपछि यसै महिनाको सुरुआतमा जेलेन्स्कीले आफ्नै दलभित्रबाट अभूतपूर्व प्रतिरोध सामना गर्नु परेको थियो । यर्माकमाथि प्रत्यक्ष कुनै गलत कार्य गरेको आरोप पुष्टि नभए पनि जेलेन्स्की दलका वरिष्ठ सांसदले जनविश्वास पुनर्निर्माण गर्न उहाँले नै जिम्मेवारी लिनुपर्ने अभिव्यक्ति दिएका छन् । केही सांसदले यर्माकलाई बर्खास्त नगरिए दल नै विभाजित हुनसक्ने चेतावनीसमेत दिएका छन्, जसले संसदीय बहुमतमा असर पर्न सक्ने सम्भावना औँल्याएका छन् ।
तर राष्ट्रपति जेलेन्स्कीले ती माग अस्वीकार गर्दै एकताको आग्रह गर्नु भएको छ । जेलेन्स्कीले युक्रेनी जनतालाई ‘राजनीतिक खेल रोक्दै एकजुट हुन’ आव्हान गर्दै हाल अमेरिकाबाट भइरहेका रूससँग सम्झौताको सम्भावित दबाबको सन्दर्भ पनि उल्लेख गर्नुभयो । एन्ड्री यर्माकले करिब १५ वर्षअघि जेलेन्स्कीसँग भेट गर्नु भएको थियो । त्यति बेला उहाँ टेलिभिजन उत्पादन क्षेत्रमा प्रवेश गरिरहेका वकिल हुनुहुन्थ्यो भने जेलेन्स्की चर्चित हास्य कलाकार हुनुहुन्थ्यो ।
पहिलो राष्ट्रपति टोलीको सदस्यका रूपमा विदेश मामिलासम्बन्धी महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै यर्माक सन् २०२० मा चिफ अफ स्टाफका रूपमा पदोन्नति हुनुभएको थियो । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि विदेश यात्रामा अधिकांश समय जेलेन्स्कीका साथमै रहने यर्माक राष्ट्रपतिले अत्यधिक भरोसा राख्ने व्यक्तिका रूपमा चिनिनु हुन्छ ।
देशभित्र उहाँलाई ‘राष्ट्रपतिका पहरेदार’ का रूपमा व्याख्या गरिन्छ र प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका महत्वपूर्ण पदमा नियुक्ति छनोटमा पनि उहाँको प्रभाव निर्णयकारी रहेको व्यापक विश्वास छ । यर्माक तथा राष्ट्रपति कार्यालयसँग जोडिएका केही व्यक्ति विगतमा पनि विभिन्न अनुसन्धानको दायरामा परिसकेका छन्, जसले वर्तमान छानबिनलाई झनै संवेदनशील बनाएको छ । रासस/एपी