• १४ पुस २०८२, सोमबार

नियमित महाधिवेशनका लागि युवा विद्यार्थी भेला

blog

नेपाली कांग्रेस निकट युवा विद्यार्थीहरुले शुक्रबार काठमाडौँमा आयोजना गरेको नियमित महाधिवेशनका लागि युवा विद्यार्थी भेलाका सहभागीहरू । तस्बिरः बिमलबहादुर विष्ट/रासस

काठमाडौँ,  मङ्सिर १२ गते । नेपाली कांग्रेस निकट युवा विद्यार्थीहरुले शुक्रबार काठमाडौँमा  नियमित महाधिवेशनका लागि युवा विद्यार्थी भेलाकाे  आयोजना गरे । 

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वयले जेन–जेड युवाहरू तथा क्रियाशील सदस्यमार्फत कांग्रेस प्रवेश गर्ने बाटो रोक्ने प्रयास गरेको आरोप लगाउनुभयो।

उहाँले विशेष महाधिवेशनसम्बन्धी विषय अहिलेसम्म पार्टीको केन्द्रीय समितिमा प्रस्तावकै रूपमा पनि प्रस्तुत नभएको उल्लेख गर्दै “विशेष महाधिवेशन हस्ताक्षर अभियान पार्टी कब्जाको उद्देश्यले अघि सारिएको देखिन्छ” भनी बताउनुभयो।


फरक प्रसङ्गमा अध्यक्ष गुरुङले कांग्रेस नेता गुरु घिमिरेले सुदूरपश्चिम र कर्णालीका जनता तथा कार्यकर्ताप्रति प्रयोग गरेको अभिव्यक्ति निच र तल्लोस्तरको रहेको भन्दै त्यस प्रकारका टिप्पणी जिम्मेवार नेताबाट उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो।

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको र पार्टीले दल दर्ता प्रक्रिया सम्पन्न गरिसकेकाले नियमित अधिवेशनको विकल्प नरहेको अध्यक्ष गुरुङको भनाइ थियो।

उहाँले पार्टीका केन्द्रीय सदस्यहरूलाई नियमित अधिवेशनको एजेन्डामा अघि बढ्न सुझाव दिँदै यस विषयमा युवा, विद्यार्थी र महिला समूहको पूर्ण साथ रहनेछ भनी स्पष्ट पार्नुभयो।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य मोहन बस्नेत, लक्ष्मी खतिवडा, कल्याणी रिजाल, बिध्या तिमिल्सिना, कुन्दन काफ्ले, कल्याण गुरुङ, बागलुङ पार्टी सभापति जित शेरचन, गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, बागमती प्रदेश कोषाध्यक्ष भद्रा भण्डारी, बागमती प्रदेश पूर्व मन्त्री मसिना खड्का भण्डारी, सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामा, पूर्व तरुण दल अध्यक्ष विनोद कायस्थ, पूर्व उपाध्यक्ष उत्तम चापागाई, किसान महासंघ अध्यक्ष गणेशचन्द्र तिमिल्सिना, महिला संघ अध्यक्ष उषा मिश्र तथा अन्य नेताहरूको उपस्थित रहेको थियो।

त्यसैगरी, नेविसंघका नेता आदर्श मल्ल, गीता गुरुङ, पूर्व उपाध्यक्ष पुष्प शाही, तरुण दल केन्द्रीय सदस्य दिल लामा, किसान महासंघ अध्यक्ष गणेश तिमिल्सिना तथा महिला संघ केन्द्रीय सदस्य निनु कर्णले नियमित अधिवेशनको पक्षमा सम्बोधन गर्नुभएको थियो।

कार्यक्रम नेपाल तरुण दल केन्द्रीय सदस्य तिर्थ गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमको संयोजन तथा सहजीकरण विद्यार्थी नेता मनिषजङ्ग थापाले गर्नुभएको थियो।